प्रधानमन्त्री शेर बहादुर देउवा नेतृत्व गठबन्धन सरकारमा सहभागी हुन माओवादी केन्द्रलाई मन्त्री छान्नैमा सकस भएको छ । मन्त्री छान्न सकस हुँदा सोमबार दिउसो बस्ने भनिएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
माओवादीबाट मन्त्रीका लागि नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, देवेन्द्र पौडेल, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, जयपुरी घर्ती, अञ्जना विशंखे ,शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको नाम चर्चामा छ । आकांक्षी धेरै देखिएपछि माओवादीमा मन्त्री छनोट सकसपूर्ण बनेको छ ।
देउवा नेतृत्वको सरकार बनेको तीन हप्ता पुग्नै लाग्दा मन्त्रिपरिषद् ले पुर्णता पाउन सकेको छैन् । मन्त्री पदका आकाक्षि धेरै हुदा गठबन्धन सबै दलले मन्त्रीको नाम अझै टुंगो लगाउन सकेका छैनन् ।
२९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवालाई काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनमोर्चाको समर्थन गरेको थियो । देउवाले सोही दिन काँग्रेसबाट बालकृष्ण खाणलाई गृह र ज्ञानेन्द्रबहादुर कार्कीलाई कानुनमन्त्री बनाएका थिए भने माओवादीबाट जनार्दन शर्मालाई अर्थ र पम्फा भुसाललाई उर्जा मन्त्री बनाएका थिए ।
यस्तै साउन १० गते काँग्रेसबाट उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएका छन् । थप १९ मन्त्रीको नियुक्तिमा एमालेको माधव नेपालको निर्णय र काँग्रेस, माओवादी र जसपाबीच शक्ति सन्तुलनमा ठोस सहमति नहुँदा ढिलाइ भएको देखिन्छ ।
गठबन्धन सरकारले मन्त्रीका आकांक्षी बढेपछि संविधान संशोधन गरेर मन्त्री परिषद बिस्तार गर्ने तयारी गरेको छ । अध्यादेश मार्फत भएपनि संविधान संशोधन गरेर सरकार बिस्तार गर्ने तयारीमा देउवा लगायत शिर्ष नेताहरु रहेका छन ।








