नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ । मंगलबार प्रचण्ड र नेपाल दुवैको भेटवार्ता भएको पुष्टि गरे पनि भेटेको स्थान भने खुलाउन चाहेका छैनन् ।
‘समसामयिक राजनीतिका साथै सरकारमा सहभागिताको विषयमा दुई जनाबीच मात्रै भेटवार्ता जारी छ,’ स्रोतले भन्यो । एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै नेपालसँग भेटवार्ताको तयारी गरेको बेला प्रचण्डले भेटेका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सकेसम्म नेपाल पक्षलाई पनि सरकारमा सहभागी गराएर मन्त्रिपरिषद विस्तार गर्ने तयारी छ । सुरुका छलफलहरुमा नेपालले सरकारमा सहभागी हुने बचन दिए पनि पछिल्ला दिनहरुमा आन्तरिक एकताको प्रयास भइरहेकाले सरकारमा नजाने बताउने गरेका छन् ।
यसैबीच आन्तरिक एकताको प्रयासमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच भेटवार्ताको तयारी भइरहेको छ । ओली र नेपालबीच मंगलबार भेट्ने तयारी भए पनि समय र स्थान भने निश्चित भइनसकेको उनीहरु निकट नेताहरुले बताएका छन् ।








