‘खोप, खोप, खोप’ भन्ने प्रधानमन्त्रीको घोषणा लागु हुने सम्भावना देखिएन : भट्टराई



नेकपा एमालेका सांसद योगेश भट्टराईले कोरोनाविरुद्धको खोप अभियानको रफ्तार सुस्त भएकोमा असन्तुष्टि जनाएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा उनले प्रधानमन्त्री शेरबहादुर देउवाले ‘खोप, खोप, खोप’ भनेर आफ्ना तीनवटा प्राथमिकतामा खोप राखे पनि त्यसअनुसार काम हुन नसकेको भन्दै असन्तुष्टि ब्यक्त गरेका हुन् ।

ताप्लेजुङको वरिष्ठ अहेव लक्ष्मी वनेमले ९ घण्टामा ९४० जनालाई खोप लगाएको भन्ने समाचार उद्धृत गर्दै उनले भने, ‘यो धेरै सुखद् समाचार हो, तर तथ्याङ्क यस्तो मात्र छैन ।’

उनले ६० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाउनुपर्नेमा आजसम्म ५ प्रतिशतले पूर्ण खोप पाएको, १४ प्रतिशतले पहिलो मात्राको खोप पाएको र देशका १६ हजार खोप केन्द्रमध्ये तीन हजार खोप केन्द्र मात्रै परिचालित रहेको बताएका छन् । १० औँ हजार स्वास्थ्यकर्मी खोप लगाउने कामबाट विमुख रहेको भन्दै उनले यस्तो अवस्थामा असोज महिनाभित्र सबै खोप लगाउँछु भन्ने मन्त्रीको घोषणा र ‘खोप, खोप, खोप’ भन्ने प्रधानमन्त्रीको घोषणा लागु हुने सम्भावना नदेखिएको बताए ।

उनले भने, ‘त्यसैले सम्माननीय प्रधानमन्त्रीजी ! कोरोनाको रोकथाम र नियन्त्रणका निम्ति तपाईंलाई समयको छुट छैन, शङ्काको लाभ छैन र तपाईंको समय अब सुरु भएको छ । हेक्का रहोस् । धन्यवाद ।’

प्रकाशित मिति : श्रावण १९, २०७८ मंगलबार  २ : २७ बजे