लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वली आफु माओवादी केन्द्रमै रहेको बताएकी छन् । प्रदेश सांसद वली बुधबार बिहान प्रदेशसभा सचिवालयमा रहेको माओवादी संसदीय दलको कार्यालयमा उपस्थित भएकी हुन् ।
विमलाले आफूलाई मुख्यमन्त्री कार्यालयमै राखिएको नेताहरुसँग बताएको माओवादी संसदीय दलका सदस्यले जानकारी दिए । ‘उहाँ आज बिहान ११ बजेपछि आफैं माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आउनुभयो,’ उनले भने, ‘उहाँ हामीसँग रुनु पनि भयो, निकै तनावमा हुनुहुन्थ्यो ।’
विमलाले केही घण्टा आराम गरेर आज दिउँसो नै पत्रकार सम्मेलन गरेर आफ्ना कुरा सार्वजनिक गर्ने ती सदस्यले बताए ।
दुई दिनअघि मात्रै विमलाको हस्ताक्षरमा आफू एमालेमै रहेको व्यहोराको प्रेस विज्ञप्ति सार्वजनिक भएको थियो । तर माओवादी केन्द्रले मुख्यमन्त्री शंकर पोखरेलको सरकारी निवासमा ‘बन्धक’ बनाएर जबरजस्ती नक्कली विज्ञप्ति निकालिएको आरोप लगाएको थियो ।
आफ्ना पति उत्तरकुमार वलीको दुर्घटनामा मृत्यु भएपछि दाङ ३ (ख) मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेको घोषणा गरेकी थिइन् ।
प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेपछि उनी गत शनिबारदेखि माओवादी केन्द्रसँग सम्पर्कविहीन भएकी थिइन् ।
प्रदेश सभामा हाल कायम ८० सदस्यीय सदस्यमा सत्ता पक्षमा ३८ मत छ भने विपक्षमा सभामुखसहित ४२ मत छ । विपक्षी गठबन्धनले मुख्यमन्त्री विरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरिसकेको छ भने प्रदेश प्रमुख समक्ष विशेष अधिवेशन बोलाउन निवेदन दिएको छ ।
मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेपछि उनको दल नेकपा एमालेले अन्य दलका सांसद तानेर बहुमत पुर्याउने कसरत जारी राखेको छ ।








