नेपाल प्रहरीका १५ जना पूर्व महानिरीक्षकहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधवार बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका छन् । राष्ट्रपतिको कार्यालय विस्तार गर्ने नाममा प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) सार्ने र जग्गा अन्यत्र निकायमा हस्तान्तरण गर्ने निर्णय खारेज गर्न माग गर्दै उनिहरुले बुधवार देउवालाई ज्ञापनपत्र बुझाएका हुन ।
अघिल्लो सरकारले प्रतिष्ठानको ऐतिहासिक पहिचान मेटिने गरी निर्णय भएको भन्दै उक्त निर्णय उल्ट्याउन उनिहरुले माग गरेका छन ।निवर्तमान केपी ओली सरकारले प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गाको स्वामित्व राष्ट्रपति कार्यालयलाई हस्तान्तरण गर्ने गरी प्रकृया अघी बढाएको थियो । १५ जना पूर्व महानिरीक्षकहरुले प्रधानमन्त्री देउवालाई बुझाएको ध्यानाकर्षण पत्रमा ऐतिहासिक पहिचान बोकेको तथा प्रहरीको व्यवसायीकताको उद्गम थलोको रुपमा स्थापित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको इतिहास नामेट पार्ने कार्य रोकिनुपर्ने उल्लेख छ ।
राष्ट्रपतिको सुख, सुविधाका लागि गरिएको सो निर्णयलाई पूर्व प्रहरी प्रमुखहरूले शक्तिको तामसपूर्ण प्रदर्शन र बाह्य तडक भडक भन्दै यसले गौरवशाली इतिहास बोकेको नेपाल प्रहरीलाई बेवास्ता गरेको पनि आरोप लगाएको छ ।
ज्ञापनपत्र बुझाउन पूर्व प्रहरी महानिरीक्षकहरु दुर्लभ कुमार थापा, मोतीलाल बोहोरा, अच्युत कृण्ण खरेल, ध्रुब बहादुर प्रधान, प्रदीप शमशेर राणा, श्याम भक्त थापा, ओम विक्रम राणा, हेम बहादुर गुरुङ, रमेश चन्द ठकुरी, रवीन्द्र प्रताप शाह, कुबेर सिंह राना, उपेन्द्रकान्त अर्याल, प्रकाश अर्याल, सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवाली बालुवाटार पुगेका थिए ।








