बिमलालाई उहाँकै इच्छाअनुसार पुर्याएको हुँ : एमाले सचेतक ढकाल



नेकपा एमाले लुम्बिनी प्रदेशसभाका मुख्य सचेतक भूमिश्वर ढकाल सांसद विमला खत्रि वलीको भनाइ खण्डन गरेका छन् । सचेतक ढकालले वलीकै राजीखुसीमा दाङबाट मुख्यमन्त्रीको निवासमा पुर्याएको दाबी गरेका हुन् ।

सांसद वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गरी आफूलाई एमाले प्रमुख सचेतक भूमिश्वर ढकाललगायतले जबर्जस्ती मुख्यमन्त्री निवास पुर्याएर बन्धक बनाएको र एमालेमा फर्किएको वक्तव्य जारी गर्न लगाएको बताएकी थिइन् । उनले आफूलाई मुख्यमन्त्रीकै निवासमा राखेको र २० गते शौचालयको चप्पल लगाएर भागेको उनको दाबी गरेकी हुन् ।

प्रमुख सचेतक ढकालले विमलालाई मुख्यमन्त्रीको निवास पुर्‍याएको स्वीकार गरेका छन्, तर जबर्जस्ती नभई उनकै इच्छाअनुसार भएको बताए । एमालेमै फर्किएको विज्ञप्ति पनि उनकै इच्छाअनुसार सार्वजनिक भएको ढकालको भनाइ छ ।

‘उहाँले मुख्यमन्त्रीसँग कुरा गर्छु भनेपछि सल्लाहमै नयाँ कपडा लगाएर, झोला भिरेर, घरबाट हामीसँग हिंड्नु भएको थियो । जबरजस्ती गरिएको होइन ।’ दाङबाट बुटवलस्थित मुख्यमन्त्रीको निवासमा ल्याउने बेला विमलासँगै उनकी दिदी र भिनाजुको भाइ पनि सँगै गाडीमा रहेको ढकालले बताए ।

प्रकाशित मिति : श्रावण २१, २०७८ बिहिबार  २ : ४८ बजे