नेकपा एमालेको केपी ओली समूहमै दुई धार देखा परेका छन् । ओली समूहभित्र नेकपा हुँदैदेखि एउटा धारको नेतृत्व ईश्वर पोखरेल, विष्णु रिमाल गरेका थिए भने पछिल्लो समय शंकर पोखरेल थपिएका छन् ।
उता, अर्को धारको नेतृत्व एमाले संसदीय दलका उपनेता समेत रहेका सुवासचन्द्र नेम्वाङ, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ लगायतको समुहमा विष्णु पौडेल पनि समाविष्ट छन् ।
ओली समूहमा ईश्वर पोखरेल धारका नेताहरु ओलीबाहेक अरु कसैलाई नेता मान्न तयार नहुने मात्रै होइन कि पार्टीका आन्तरिक विवादमा समेत यो वा त्यो बहानामा मिल्नै लागेका विषयमा समेत अड्को थापेर बिथोल्ने काम गर्छन् ।
खासगरी ओली समूहमै विभाजित फरक धारका नेताहरुले ओलीलाई आफ्नो पक्षमा ल्याउने कसरत गर्दै आएका छन् । ओलीले चाहिँ पार्टीभित्र आइपर्ने समस्याका बारेमा यी दुवै धारलाई प्रयोग गर्दै आफ्ना स्टेपहरु चाल्ने गरेका छन् । तर, यसरी कदम चाल्दा एउटा पक्ष सधैं असन्तुष्ट हुने गर्दछ ।
यही दुई धारका कारण केही समयअघि ओलीले आफ्ना निकटस्थहरुमार्फत माधव नेपाललाई अध्यक्ष बनाएर अघि बढ्न सकिने बताएका थिए । ओली यसमा सहमत भएपछि नेताहरुले माधव नेपालसमक्षलाई सोही सन्देश सुनाएका थिए । त्यसमा नेता नेपालसमेत लचक भएपछि एमाले विवाद समाधानउन्मुख भएको आँकलन समेत गरिएको थियो ।
स्रोतका अनुसार गत साउनको पहिलो साता एमालेको ओली पक्षले माधव नेपाल समूहका २२ नेतालाई स्पष्टीकरण सोधेर कारवाही गर्न बैठक बोलाएको थियो । तर, सुवास नेम्वाङ लगायतका नेताहरुले कार्यदलले एकता प्रस्ताव तयार पारेको र एकता वार्ता समेत जारी रहेको भन्दै माधव समुहका नेताहरुमाथिको कारवाही रोक्न सफल भएका थिए ।
यसपछि माधव पक्षलाई कारवाही गर्नुपर्छ भन्ने पोखरेल खेमाका नेताहरु तुलसीलाल प्रतिष्ठानमा आयोजित स्थायी समिति बैठकपछि निरास भएर फर्केका थिए । माधव नेपाल समूहलाई कारवाहीको घोषणा हुन्छ भन्ने सोचेका पोखरेल खेमाका नेताहरु अध्यक्ष ओलीले एकाएक ‘एम्नेष्टी इज ग्रान्टेड’ भनेपछि ब्याक हुन बाध्य भएका थिए ।
यस्तै एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ । सोमबार ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा भएको बैठकमा राजनीतिक, सांगठानिक र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल भएको छ ।
त्यसमा केही संशोधन गरी दिउँसो ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकमा पेस गर्ने तयारी रहेको एक नेताले बताएका छन् ।
एमालेको विधान महाधिवेशन भदौ २७ र २८ गते तोकिएको छ । विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान मस्यौदा प्रस्तावमाथि छलफल गर्न आज बैठक बोलाइएको हो । केन्द्रीय कमिटीको प्रस्ताव साउन २७ भित्र सबै मातहत कमिटीहरूमा अध्ययन र सुझावका लागि पठाइनेछ ।








