कांग्रेसका शिर्ष नेताहरु बुढानीलकण्ठमा



नेपाली कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुट्ने भएका छन्। बुधबार पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताहरुबीच दिउँसो २: ३० बजे छलफल हुने भएको हो ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाको निजी निवास बुढानीलकण्ठ बस्ने बैठकमा महाधिवेशनको नयाँ कार्यतालिका र क्रियाशील सदस्यता विवादबारे छलफल हुने भएका हुन् ।

वरिष्ठ नेता पौडेल निर्धारित मितिमै महाधिवेशन गर्नुपर्ने अडानमा छन् भने सभापति देउवा मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका ल्याउने पक्षमा छन् । देउवाको प्रस्ताव महामन्त्री डा. शशांक कोइराला र पूर्वमहामन्त्री सिटौला सकारात्मक छन् ।

सभापति देउवाले मंगलबार संस्थापनइतर समूहका नेताहरु डा. शेखर कोइराला, डा. मिनेन्द्र रिजाल र गगनकुमार थापासँग महाधिवेशनबारे छलफल गरेका थिए । केन्द्रीय सदस्य रिजालले केन्द्रीय समिति बैठकअघि कार्यतालिकाबारे शीर्ष तहमा सहमति जुटाउन देउवालाई आग्रह गरेका थिए ।

कांग्रेसको क्रियाशील सदस्यता विवाद सुल्झाउन देउवा, पौडेल र सिटौलालाई जिम्मा दिइएको थियो ।

प्रकाशित मिति : श्रावण २७, २०७८ बुधबार  २ : २३ बजे