माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै



सत्तारुढ दल नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्ने भएको छ । स्थायी कमिटीको बैठक दिउँसो ३ बजे बस्न लागेको हो ।

बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्नेछ। केन्द्रीय कमिटीको बैठक शनिबारदेखि काठमाडौंमा सुरू हुने भएको छ । बैठक मुख्य रूपमा पार्टीको राजनीतिक र सांगठनिक विषयमा केन्द्रित रहने छ।

सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलापछि पूर्ववत् रूपमा नै फर्किएको नेकपा माओवादी केन्द्रले पार्टीको संगठन विस्तारदेखि वडात हसम्मका संगठन निर्माणको कामलाई अगाडि बढाउन सकेको छैन।

यी विषयमा यसपटक बस्ने केन्द्रीय कमिटी बैठकले ठोस निर्णय गरेर देशव्यापी पार्टी संगठन निर्माणको अभियानलाई अघि बढाउने बताइएको छ। माओवादी केन्द्रले संगठनात्मक विषयमा आवश्यक गृहकार्य गर्न स्थायी कमिटी सदस्य वर्षमान पुनको नेतृत्वमा यसअघि नै कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाइसकेको छ। नेकपा माओवादी केन्द्रले अब पार्टीको संगठन निर्माणलाई अघि बढाउने क्रममा समावेशितालाई ध्यानमा राखेर हरेक तहका कमिटीहरूमा महिला, दलित, युवा लगायतको समान सहभागितालाई प्राथमिकतामा राखेर अघि बढ्ने निर्णय गरिसकेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यसअघि नै पार्टी कमिटीका बैठकहरूमा अब पार्टीलाई सुदृढ बनाएर अघि बढाउन देशव्यापी रूपमा जनस्तरमा जाने अभियान सञ्चालन गरिने बताएका थिए।

प्रकाशित मिति : श्रावण २९, २०७८ शुक्रबार  १२ : ५५ बजे