एमाले माधव नेपाल समूहका नेताहरुलाई ओली पक्षका नेताहरु फकाउन थालेका छन् । विश्वासको मत दिनुअघिसम्म ओली क्याम्पमा रहे पनि आफूलाई अध्यक्ष केपी शर्मा ओलीले कुनै अवसर नदिएको भन्दै क्याम्प चेन्ज गरी नेपाल समूहमा खुलेका किसान श्रेष्ठ ‘किसन’ लगायत नेताहरूलाई संस्थापन पक्षमै ल्याउने रणनीतिमा लागेका हुन् ।
स्रोतका अनुसार ओलीनिकट नेताहरूले किसानलाई क्याम्प चेन्ज गरेर फेरि संस्थापन पक्षमै आउन आग्रह गरेका छन्।
ती नेताको फोन संवादमा भने, ‘ माननीयज्यू, तपाई आखिर ओली क्याम्पकै नेता हो, मन्त्री नबनाएको भनेर तपाईं मन्त्री बन्न लाग्नुभयो, अहिले पनि केही बिग्रिएको छैन्, संस्थापन पक्षमै आउनुहोस्, पार्टीले तपाइँको उच्च मूल्यांकन गर्छ, स्रोतको दावि छ।’
‘होइन, माननीयज्यू, म मन्त्री बन्न आएको होइन, गठबन्धनले अवसर दिए मन्त्री पनि बनौंला, तर म ओली क्याम्पमा फर्किन्न, यतै बस्छु,’ सांसद श्रेष्ठले जवाफ दिएको स्रोतले भनेको छ।
किसनको जवाफ सुनेर ओली पक्षका ती नेताले भने, ‘हुन्छ जे गर्नुस्, त्यो तपाइँको निर्णय हो तर, एक पटक विचार गर्नुहोला।’
फेरि किसनले भने, ‘हुन्छ कमरेड संवाद गर्दै गरौंला।’ त्यतिकैमा फोन संवाद सकिएको थियो।
ओली पक्षबाट तपाईंलाई फोन आएको हो भनी सांसद किसन श्रेष्ठलाई सम्पर्क गर्दा जवाफमा सांसद श्रेष्ठले भने, ‘अहिले म सँग बोल्ने कुरा केही छैन, फोनको विषयमा त म ज्यान जाला केही भन्दिनँ।’
अर्कोतिर प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल पक्षलाई सहज हुने गरी दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेको चर्चा सुरु भएसँगै नेपाल पक्षमा सांसद अपुग हुन भन्दै माधव पक्षका नेतारसांसद फकाउन ओली पक्ष सक्रिय भएको अनुमान छ।








