पार्टी फुट्ने भएपछी एकतामा सक्रिय रहन एमालेको आह्वान



नेकपा (एमाले)ले नेता तथा कार्यकर्तालाई  एकतामा सक्रिय योगदान गर्न आह्वान गरेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा आज भएको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन हरसम्भव प्रयास भइरहेको भन्दै नेता तथा कार्यकर्तालाई गुटमा नलागी पार्टी एकताका लागि सक्रिय योगदान गर्न आह्वान गरेको बैठकपछि एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

बैठकले पार्टी विभाजनविरुद्ध दृढताका साथ उभिन आग्रह गरेको उनले बताए । केही साथीले पार्टी छाडेर जाने तयारी गरेका भन्दै त्यस्तालाई नजानसमेत आग्रह गरे ।एमाले प्रवक्ता ज्ञवालीले जुन उद्देश्यका साथ संसद् स्थापना भएको थियो गठबन्धन पार्टीले त्यसअनुरुप काम नगरेको आरोप लगाए ।

“संसद्मा विचाराधीन कैयौँ विधेयकको टुङ्गो लगाउनुपर्ने र जनसरोकारका कैयौँ विषयमा छलफल गर्नुपर्नेमा सरकारले संसद् अधिवेशन अन्त्य गरेको छ,” उनले भने , “यो कार्य गठबन्धन सरकारले विगतमा सार्वजनिक रुपमा व्यक्त गरेका साझा न्यूनतम कार्यक्रमको प्रतिबद्धताबमोजिम समेत छैन ।”

आज बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याए पछी एमाले फुट्ने कारीब निश्चित बनेको छ ।

प्रकाशित मिति : भदौ १, २०७८ मंगलबार  २ : १६ बजे