राष्ट्रपतिले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने



राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने तयारी गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले प्रक्रियाअनुसार आजै राष्ट्रपतिले अध्यादेश जारी गर्ने तयारी गरेको बताएका हुन् ।

‘सिफारिस राष्ट्रपतिज्यू कहाँ आइपुगेको छ’, उनले भने, ‘आजै दिनभरीमा अध्यादेश जारी होला नि !’ शीतल निवासले सरकारले सिफारिस गरिसकेपछि प्रक्रियाअनुसार अघि बढ्नुपर्ने निष्कर्ष निकाल्दै अध्यादेश जारी गर्ने निष्कर्ष निकालेको हो । राष्ट्रपतिले अध्यादेश जारी गर्नुअघि कानुनविद्हरुसँग परामर्श गर्नुपर्ने भएपनि हालसम्म त्यस्तो कुनै परामर्श नभएको अधिकारीको दावी छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने व्यवस्था गरिएको छ ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो । यो ऐनलाई संशोधन गर्न ल्याइएको अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : भदौ २, २०७८ बुधबार  १२ : ४५ बजे