एमालेले बैठक चल्न नदिने भएपछि सूचना टाँस गरेर प्रदेशसभा बैठक स्थगित



लुम्बिनी प्रदेश सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अवरोध गरेपछि बिहीवार बोलाइएको बैठक सूचना टाँसेर स्थगित भएको हो ।

एमालेले भदौ १ र २ गते बसेको बैठक पनि चल्न दिएको थिएन । अर्को बैठक भदौ ७ गते दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा सचिव दुर्लभकुमार पुनले बताए ।

एमालेले सूर्य चिह्नबाट निर्वाचित भएका मन्त्री अजय शाही र सांसद विमला खत्री वलीलाई पदमुक्त गर्नुपर्ने माग राख्दै आएको छ । एमालेले वली र शाहीलाई पदमुक्त नगर्दासम्म संसद चल्न नदिने बताएको छ ।

शाही हृदयेशकुमार त्रिपाठीको स्वतन्त्र समूहबाट सूर्य चुनाव चिह्न लिएर चुनाव जितेका थिए भने वलीले नेकपाबाट सूर्य चुनाव चिह्नबाट चुनाव जितेकी थिइन् ।

शाहीले आफू स्वतन्त्र समूहबाट चुनाव जितेकाले एमालेको ह्वीप नलाग्ने बताउँदै आएका छन् भने वलीले माओवादी केन्द्र रोजेको बताइएकी थिइन् ।

प्रकाशित मिति : भदौ ३, २०७८ बिहिबार  १ : २१ बजे