माधवकुमार नेपाल निकट मानिएका नेता भुसालले आफू तटस्थ बस्ने बताएका छन् । बुधबार नेकपा एमाले औपचारिक रूपमै विभाजित भएपछि पार्टीका अधिकांश नेता–कार्यकर्ता कता लाग्ने भन्ने अन्यौल छाएका बेला भुसालले भने तटस्त बस्ने बताएका हुन् ।
एमाले एकताका लागि गठित कार्यदलमा नेपाल पक्षका सदस्य रहेका भुसालले एकताका लागि तयार पारिएको १० बुँदे सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै आएका छन्। तर, अध्यक्ष केपी शर्मा ओली १० बुंदे सहमति कार्यान्वयन गर्न तयार देखिएका छैनन्।
बुधबार पार्टी एकताको अन्तिम प्रयासका लागि बालकोट पुगेका भुसाललाई ओलीले ओठे जवाफ दिएका थिए। ओलीको जवाफपछि निरास भएर फर्किएका भुसालले हालसम्म आफूलाई कुनै समूहमा उभ्याइसकेका छैनन्।
भुसाल अहिले पनि एकताकै पक्षमा लबिङ गर्ने मनस्थितिमा रहेको बताइन्छ। मंगलवार पनि उनले माधव नेपाललाई भेटेर एकताका लागि ओलीसँग सम्वादमा बस्न आग्रह गरेका थिए।
दोस्रो पुस्ताका नेताहरूको प्रयासका बाबजुद एमाले विभाजित भएपछि एमालेमा ठूलो समूह अन्यौलमा परेको छ। अधिकांश नेता–कार्यकर्ता एकातिर ओलीसँग विचार र कार्यशैली दुवै नमिल्ने अर्कोतिर नयाँ पार्टीभित्र भविष्य नदेख्ने किंकर्तव्यविमुढको अवस्थामा देखिएका छन्। भुसाल पनि त्यसैको शिकार भएको देखिन्छ।
यद्यपि, यसअघि नै भुसालले आफू बृहत कम्युनिस्ट एकताको पक्षमा रहेको बताउँदै आएका छन्। माधव नेपालको एमाले समाजवादीले फेरि वामपन्थी शक्तिबिच एकताको प्रयास थाल्दा भुसाल लगायतका नेताहरू नेपालतिरै फर्किने अनुमान गरिएको छ।








