माधवको पार्टीमा नलागेका ९ नेताले निकाले यस्तो संयुक्त वक्तव्य



नेकपा एमाले स्थायी कमिटी सदस्यहरुले एमाले अध्यक्ष केपी शर्मा ओली र नयाँ पार्टी गठन गर्ने माधव नेपाल दुवैले आफ्ना निर्णयलाई सच्याउनुपर्ने निष्कर्ष निकालेका छन्।

बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले पार्टी विभाजनले कसैकोपनि हित नगर्ने भएकोले अलग पार्टी दर्ताको प्रक्रियामा संलग्न नेता र कार्यकर्ताहरुलाई त्यस्तो प्रक्रिया रोकी पार्टी एकताको लागि तत्पर हुन अनुरोध समेत गरेका छन् ।

उनले १० बुँदे सहमतिलाई पालना गरेर अघि बढ्न समेत अपिल गर्ने निर्णय गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीको सात दशक लामो इतिहासमा विभिन्न कालखण्डमा भएका विभाजनका पीडादायी परिणामहरु छर्लङ्गै रहेको भन्दै उनीहरुले त्यसबाट पाठ सिक्नुपर्ने धारणा पनि राखेका छन् ।

एमाले सचिव गोकर्ण विष्टका अनुसार माधव नेपालसहित १४ सांसदलाई गरेको कारबाही ओलीले फिर्ता लिनुपर्ने र नयाँ पार्टी गठनको प्रक्रियाबाट माधव नेपाल पछि हट्नुपर्ने निष्कर्ष निकालेका हुन् ।

बैठकमा एमाले उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल,सचिवहरु गोकर्ण विष्ट, योगेश भट्टराई , स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्त र अमृत बोहोरा सहभागी थिए।

प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार  ८ : ५४ बजे