माधवकुमार नेपालका पूर्व स्वकीय सचिव प्रदेश प्रमुखमा नियुक्त



बागमती प्रदेशको प्रदेश प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई प्रदेश प्रमुख नियुक्त गरेकी हुन् ।

बिहिबार बसेको मन्त्रिपरिषद्को बैठकले बाग्मती प्रदेशको प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई बर्खास्त गर्दै यादव शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको थियो ।

नवनियुक्त प्रदेश प्रमुख शर्मा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा स्वकीय सचिव थिए । अहिले उनकै प्रस्तावमा प्रदेश प्रमुख नियुक्त गरिएको बताइएको छ ।

गत असार २८ गते शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्ति भएयता सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ । गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, लुम्बिनीमा अमिक शेरचन र प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन् ।

प्रकाशित मिति : भदौ ४, २०७८ शुक्रबार  ३ : १४ बजे