सुदूरपश्चिममा एक्लिदै रावल, खल्तीका नेताले समेत दिएनन् साथ



एमालेका नेता भीम रावल सुदूरपश्चिममा एक्लिदै गएका छन् । सुदूरपश्चिममा बलियो मानिएका रावललाई पछिल्लो समय उनि निकटका सांसदहरुले नै साथ छाड्न थालेपछि उनी एक्लिदै गएका हुन्।

सुदूरपश्चिम प्रदेशको नाम नै रावलका नामबाट राख्नुपर्ने बताउदै आएकी प्रदेश सांसद माया भट्टले नै साथ छोडेपछि रावल एक्लिदै गएको चर्चा छ। पूर्व वन, वातावरण, उद्योग तथा पर्यटन मन्त्रीसमेत रहेकी भट्टले रावलको साथ छोडेपछि यस्तो चर्चा थालिएको हो।

पछिल्लो समय मायाले एक अन्तर्वार्तामा आफू रावलको खल्तीको नेता भएको समेत भन्न भ्याएकी थिईन। आफैलाई रावलको खल्तीको नेता बनाउने भट्टले किन रावलको साथ छोडिन यो भने चासोको विषय बनेको छ।

स्रोतका अनुसार उनलाई मन्त्री पदबाट रावलले हटाउनु त्यसको मुख्य कारण मानिएको छ। भट्ट आफूलाई मन्त्री पदबाट हटाएपछि रावलसंग असन्तुष्ट थिईन। त्यो कारणले मात्रै नभएर भट्ट पहिले देखि नै माधव नेपालको पक्षमा रहेको स्रोतको दाबी छ।

अहिले नेपालले नयाँ पार्टी दर्ता गर्न थालेपछि उनले नेपाललाई साथ दिएकी हुन्।

यस्तै एमालेको बिभाजनसंगै अन्ततः रावलका अत्यन्त निकट मानिने शेर बहादुर कुवँरले समेत छोडेको चर्चा चलेको थियो । राष्ट्रिय सभा सदस्य रहेका कुवँर अछाममा रावलपछिका एमालेका प्रभावशाली नेताका रुपमा चिनिन्छन ।

उनी भीम रावलका ‘व्याक बोन’ का रुपमा समेत चिनिन्छन । अछाममा कुवँरको साथ बिना रावलको राजनीतिमा समेत ठूलो असर पर्ने निश्चित छ । रावलले गुट परिवर्तन गरिरहन थालेपछि कुवँरले उनको साथ छोडेका हुन् ।

रावलको कारण कहिल्यै कुनै गुटमा जानु पर्ने । कहिल्यै कुनै गुटमा । कति गुट परिवर्तन गर्नु ? हिजो प्रतिगमन र अतिवादका बिरुद्ध केपी ओलीको बिपक्षमा उभियौ । अव केपी ओलीका पक्षमा रावल जानु भयो भनेर कसरी जानु ? कुवँरले नेपाललाई भेटेर रावल जता गएपनि आफू समाजवादी पार्टीमा रहने प्रतिबद्धता गरेका छन् ।

प्रकाशित मिति : भदौ ६, २०७८ आइतबार  १ : ३६ बजे