सभामुख पूर्णबहादुर घर्तीले लुम्बिनी प्रदेश सभाका सदस्य अजय शाहीलाई सांसद पदबाट हटाउन नसकिने निर्णय गरेका छन्। सभामुख घर्तीले सूर्य चिह्नबाट चुनाव जितेका सांसद शाहीलाई पदबाट हटाउन नसकिने निर्णय गरेका हुन् ।
शाहीले २०७४ को प्रदेश सभा निर्वाचनमा सूर्य चिह्न लिएर चुनाव लडेका थिए। उनी नवलपरासी बर्दघाट सुस्ता पश्चिम क्षेत्र नं. १ ‘क’ बाट निर्वाचित भएका थिए।
उनले २०७४ सालमा शंकर पोखरेल मुख्यमन्त्री हुँदा समर्थन गरेका थिए। पछिल्लो पटक नेकपा (माओवादी केन्द्र)को तर्फबाट मुख्यमन्त्री नियुक्त भएका कुलबहादुर केसीको समर्थन गरेका छन्।
मुख्यमन्त्री केसीलाई समर्थन गरेपछि नेकपा (एमाले) संसदीय दलले उनलाई सांसदबाट हटाउने निर्णय गरेको थियो। त्यहिअनुसार, उनी पदमुक्त भएको प्रदेश सभामा जानकारी गराउन एमाले संसदीय दलका प्रमुख सचेतक भूमेश्वर ढकालले पत्र पठाएका थिए।
एमाले संसदीय दलको मागअनुसार, शाहीलाई सांसदबाट पदमुक्त गर्न नसकिने सभामुख घर्तीले निर्णय गरेको प्रदेश सभा सचिवालयका सचिव दुर्लभ कुमार पुनमगरले जनाएका छन्।
उनले एमाले संसदीय दललाई पठाएको पत्रमा भनिएको छ, “नेकपा (एमाले) लुम्बिनी प्रदेश सभा संसदीय दलले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३४ बमोजिम सूचना दिन पाउने वा नपाउने भन्ने प्रश्न उठ्न गएकाले उक्त सूचना सोही ऐनको दफा ३५ बमोजिम सदनमा जानकारी दिन नसकिने गरी माननीय सभामुखज्यूबाट मिति २०७८/०५/०४ मा निर्णय भएको व्यहोरा जानकारीको लागि अनुरोध छ।”
सभामुख घर्तीले पदमुक्त भएको जानकारी दिन नसकिने निर्णय गरेसँगै सांसद शाहीको पद जोगिएको छ। उनी एमालेमा नरहेको र त्यो पार्टीको सदस्यको हैसितयले चुनाव नलडेको भएकाले एमालेले कारबाही गर्न नसक्ने सभामुखले निर्णय गरेका हुन्।









