निर्वाचन आयोगबाट माधवकुमार नेपाल र महन्थ ठाकुरले प्रस्ताव गरेको नामले मान्यता पाउने हो भने ‘समाजवादी’ नाम जोडिएका दलको संख्या १० पुगेको छ । शुक्रबार नेकपा (एमाले) का पूर्व महासचिव माधवकुमार नेपालले आयोगमा ‘नेकपा(एकीकृत समाजवादी)’ नामक दल दर्ताका लागि निवेदन दिएका हुन्।
यसअघि प्रस्तावित नाम अन्य दलसँग मिल्दोजुल्दो भएको भन्दै आयोगले नयाँ नाम मागेपछि नेपाल पक्षले एमाले हटाएर नेकपा (एकीकृत समाजवादी) नाम प्रस्ताव गरेको हो।
जसपाका पूर्व अध्यक्ष महन्थ ठाकुरले आयोगमा ‘नेपाल लोकतान्त्रिक पार्टी (समाजवादी)’ दल दर्ताका लागि निवेदन दिएका छन्। ठाकुर पक्षले यसअघि प्रस्ताव गरेको ‘जसपा लोकतान्त्रिक नेपाल’ नाम पनि आयोगले अस्वीकार गरेको थियो।
एमालेका पूर्व महासचिव नेपाल र जसपाका पूर्व अध्यक्ष ठाकुर पक्षलाई सनाखतका लागि आयोगले ९ भदौमा बोलाएको छ।
आयोगमा दर्ता भएका ९५ दलमध्ये ८ वटाको नाममा ‘समाजवादी’ जोडिएका पार्टीहरूमध्ये उपेन्द्र यादव अध्यक्ष रहेको जनता समाजवादी पार्टीले मात्रै संघीय संसद्मा राष्ट्रिय दलको मान्यता पाएको छ।
पूर्व गृह राज्यमन्त्री मोहम्मद रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टीले प्रदेश–२, प्रदेश सभामा एक स्थान जितेको छ। बाँकी दलहरूले भने संसदीय उपस्थिति जनाउन सकेका छैनन्।
निर्वाचन आयोगमा दर्ता भएका र दर्ताका लागि निवेदन दिएका ‘समाजवादी’ दलहरूः
१. नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), अध्यक्षः माधवकुमार नेपाल
२. नेपाल लोकतान्त्रिक पार्टी (समाजवादी), अध्यक्षः महन्थ ठाकुर
३. जनता समाजवादी पार्टी नेपाल, अध्यक्षः उपेन्द्र यादव
४. नेपाल संघीय समाजवादी पार्टी, अध्यक्षः मोहम्मद रिजवान अन्सारी
५. राष्ट्रिय समाजवादी पार्टी नेपाल, अध्यक्ष रुद्रजंग पुलामी
६. आधुनिक नेपाल समाजवादी पार्टी, अध्यक्षः कृष्णगोपाल बन्जारा
७. नेपाल समाजवादी कांग्रेस, अध्यक्षस् गोविन्दप्रसाद निरौला
८. समाजवादी पार्टी नेपाल, अध्यक्षः विष्णुराज नेपाल
९. जनसमाजवादी पार्टी नेपाल, अध्यक्षः सुवास काफ्ले
१०. नेपाल समाजवादी पार्टी (लोहियावादी), अध्यक्षः नन्दन यादव








