नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रवक्ताबाट हट्न चाहेको बताएका छन्। आइतबार बसेको स्थायी कमिटी बैठकमा श्रेष्ठले आफ्नो पदलाई निरन्तरता दिन नचाहेको बताएका हुन्।
“उहाँले कुनै हालतमा प्रवक्ता बस्दिनँ भन्नुभयो,” एक स्थायी कमिटी सदस्यले भने, “अध्यक्षज्यूले अर्को बैठकबाट निर्णय गरौं भन्नुभयो।”
यसअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को समेत प्रवक्ता रहेका श्रेष्ठ २३ फागुनको सर्वोच्च अदालतको फैसलापछि माओवादी प्रवक्ताको भूमिकामा छन्।
उनी नेकपाबाट निर्वाचित राष्ट्रिय सभा सदस्य हुन्।
यस्तै नेकपा (माओवादी केन्द्र)ले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इन्चार्ज तोकेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इन्चार्ज तोकेको हो । त्यसैगरी बैठकले विभागको प्रमुख पनि तोकेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनु भयो । जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘बैठकमा मुख्यतया केन्द्रीय समितिले स्थायी समितिलाई दिएको निर्देशन र जिम्मेवारी पुरा गर्ने एजेण्डामा छलफल भयो । त्यो छलफल अनुसार विभिन्न प्रदेशका रिक्त पदाधिकारीहरु, जिल्ला समितिका जसलाई अहिले जिल्ला समन्वय समितिमा रुपान्तरण गरीएको छ, इन्चार्जहरु तोक्ने काम भएको छ । त्यसैगरी पार्टीका विभिन्न विभागहरुको प्रमुखहरु तोक्ने काम भएको छ । त्यसो गर्दा कतिपय जिल्लाहरुमा केन्द्रीय समितिका सदस्यहरु नभएको जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि तोकेर उहाँहरुलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ । र जिल्ला समन्वय समितिका संयोजकहरु तोक्ने काम भने सम्बन्धित प्रदेश समितिलाई नै दिइएको छ । यसरी सबै केन्द्रीय सदस्यहरुलाई जिम्मेवारी निश्चित गर्ने काम भएको छ । र प्रदेश र जिल्लाका जिम्मेवारीहरु तय गरिएका छन्, यसका साथसाथै अब हामीले राष्ट्रिय सम्मेलनलाई केन्द्रबिन्दूमा राखेर वडा अधिवेशन, पालिका अधिवेशन र त्यसपछाडी प्रदेश अधिवेशन गर्ने गर्ने सम्बन्धमा पार्टीको निर्वाचन आयोगले निर्वाचन नियमावली तय गरेको छ । निर्वाचन निर्देशिका पनि तयार गर्ने काम भएको छ । र हामीले निर्वाचन नियमावली र निर्वाचन निर्देशिकालाई छिट्टै तल पठाइदिने छौँ र त्यसको आधारमा अधिवेशनका कामहरु सम्पन्न हुनेछन् । ति अधिवेशनका कामहरु, समिति निर्माणका कामहरु गर्ने क्रममा पनि राष्ट्रिय स्वधिनताको रक्षाको विषय, साथसाथै अहिलेको कोभिड महामारीमा जनतालाई सहयोग गर्ने विषय र कोभिडसँग जुध्न एकतावद्ध हने विषय, त्यसैगरी हाम्रो अहिलेको सन्दर्भमा प्रतिगमनप्रति सचेत हुनुपर्ने आवश्यकताका विषयसहित शिक्षा, स्वास्थ्य, कृषि, सामाजिक भेदभावको अन्त्य, उत्पादन, रोजगारी, पर्यावरणको रक्षा, विज्ञान प्रविधीको अधिकतम प्रयोगजस्ता विषयमा ध्यान केन्द्रीत गर्ने कुरा सिंगै पार्टी कमिटीलाई निर्देशित गरिएको छ ।’
बैठकले पार्टीलाई व्यवस्थित र विधिसंगत् रुपले सञ्चालन गर्दै अन्य कम्युनिष्ट शक्तिहरुसँग एकता र ध्रुविकरणको लागि वार्ता गर्न पहल गर्ने निर्णय गरेको पनि प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘हाम्रो पार्टीलाई व्यवस्थित गर्ने, विधिसंगत् ढंगले, संस्थागत ढंगले सञ्चालन गर्ने र यसको क्रान्तिकारी रुपान्तरण गर्ने कुरालाई केन्द्रबिन्दूमा राख्दै अरु सबै कम्युनिष्ट क्रान्तिकारी शक्तिहरु सँग पनि एकता र ध्रुविकरणको निम्ति वार्ता गर्न, पहल गर्न आवश्यक प्रक्रिया अगाडी बढाउने पनि निर्णय गरेको छ ।’
मन्त्रिपरिषद् बिस्तारको सम्बन्धमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफ दिदैँ प्रवक्ता श्रेष्ठले माधवकुमार नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नेकपा (एकीकृत समाजवादी) पार्टीको दर्ता प्रक्रिया पुरा भइसकेपछि मन्त्रिपरिषद बिस्तार हुने बताउनुभयो ।








