नेपाललाई साथ नदिएका एमाले नेताहरू बालकोटमा



लामो समय माधव कुमार नेपाललाई साथ दिएपनि नयाँ पार्टी गठन गर्दा नेपाललाई साथ नदिएका एमाले नेताहरू बालकोट पुगेका छन्। सोमबार पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न नेताहरु बालकोट पुगेका हुन् ।

एमाले उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्ट र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलगायत नेताहरू ओलीसँग वार्ता गर्न बालकोट पुगेका छन्।

उनीहरुले नेपालसहित १४ जना सांसदलाई गरेको काबाही फिर्ता लिन माग गरेका छन् भने पार्टी गठनको निर्णयबाट पछि हट्न नेपाललाई आग्रह गरेका छन्।

बुधबार नेपालसहित नयाँ पार्टीमा बस्न चाहने नेतालाई सनाखतका लागि निर्वाचन आयोगले बोलाएको छ।

यता एमालेका अध्यक्ष ओलीले अब एमालेमा तेस्रो गुट स्वीकार्न नसकिने बताएका छन् ।

माधव नेपाल समूहमा रहेका तर अन्तिम समयमा आएर उनलाई साथ नदिएका नेताहरुले एकताका लागि जेठ २ फर्कनुपर्ने तथा कार्यदलको सहमति अक्षरस कार्यान्वयन गर्नु पर्नेमा जोड दिइरहेका बेला ओलीले त्यसलाई अस्वीकार गरेका हुन् ।

’अर्को गुटबन्दीको शिलशिला कुनै पनि हालतमा स्वीकार्न सकिन्न । यो कुनै स्वस्थ प्रतिस्पर्धा हैन, गुटबन्दीको निरन्तरता हो ।’ उनले जेठ २ मा फर्कन माग गर्नेहरुले वक्तव्यबाजीमा नलागेर थपक्क पार्टीमा काम गर्नुपर्ने बताए । ओलीले ७५ जेठ २ अब नआउने प्रष्ट पारे।

‘मैले उहाँहरुलाई सोध्या छैन। थपक्क पार्टीमा काम गर्न छोडेर के को वक्तव्यबाजी ?’, ओलीले भनेका छन् ।

प्रकाशित मिति : भदौ ७, २०७८ सोमबार  ११ : ३१ बजे