माधव कुमार नेपालले पार्टी विभाजन गरेसंगै तटस्थ बसेका दोस्रो पुस्ताका नेताहरूले नेपाल अब कुनै पनि हालतमा एमालेमा नफर्कने निष्कर्ष निकालेको छ ।
यस अघि माधव नेपाल पक्ष भनिएका एमाले स्थायी कमिटी सदस्यहरू पार्टी विवाद समाधानका लागि अध्यक्ष ओलीसँग ‘निर्णायक’ छलफल गर्ने भन्दै ओली निवास बालकोट पुगेका थिए ।
‘बैठकमा सहभागी नेताहरूले माधव नेपालले अलग्गै बाटो हिँड्न संकल्पित गरेकाले अब उहाँ एमालेमा फर्कनुहुन्न भन्ने निष्कर्ष निकाल्नुभयो,’ बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने ।
‘अपिल गरे पनि वा अरू कुनै आधारबाट पनि माधव नेपाल फर्कने सम्भावना छैन भन्ने निष्कर्ष रह्यो,’ ज्ञवालीले भने, ‘उहाँहरू त जानुभयो तर निर्वाचन आयोगले सनाखतको लागि बोलाएको छ । थप साथीहरू त्यसमा नजानुहोस् भन्नका लागि भोलिको बैठकले केही आह्वान गर्ला ।’
तटस्थ बसेका नेताहरूले भनेजस्तै पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किसकेको र पार्टी विभाजनमा नगएकाहरूलाई पुरानै जिम्मेवारीमा यथावत् रहने पनि ज्ञवालीले बताए ।
एमालेको पार्टी विवाद समाधानको लागि १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् । आज उनकै निवास बालकोटमा पार्टीका स्थायी कमिटी सदस्यहरूसँग भएको छलफल पछि ओलीले भदौ ८ गते विहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको ज्ञवालीले जानकारी दिए ।








