प्रस्तावित नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले दल दर्तापछि मात्र वार्ता हुने बताएका छन् ।
चन्द्रागिरी हिल्स रिसोर्टमा सोमबार आफू निकट केन्द्रीय सदस्य र सांसदहरुको बैठकलाई सम्बोधन गर्दै नेपालले अब एमाले एकताका लागि वार्ता दुई फरक दलका रुपमा मात्र हुने बताएका हुन् ।
अब सबैभन्दा पनि नेकपा (एकीकृत समाजवादी) दर्ता अनिमात्र एमालेसँग वार्ता । अब एकता भयो भने भोलि कुनै विन्दूमा दुई पार्टीबीच हुन्छ तर एमाले एकताको च्याप्टर क्लोज भयो, नेपालको भनाइ उदृत गर्दै एक नेताले भने ।
नेता नेपालले दोस्रो तहका नेताहरु ओलीको पाउमा लम्पसार परेको आरोप लगाए । भीम रावल, घनश्याम भुसाल लगायतका दोस्रो तहले हिजो आफूलाई साथ दिएका नेताहरु पनि दल दर्तामा संख्या पुग्न नदिन सक्रिय रहेको नेपालको भनाइ थियो ।
१० बुँदे सहमति जालझेलमात्र थियो भन्दै नेपालले दश बुँदे कार्यन्वयन गर्ने कुरा नेकपा (एकीकृत समाजवादी) दर्ता हुन नदिने अन्तिम अस्त्र भएकाले त्यस्ता जालझेलमा नपर्ने र ठूलो पार्टी बनाउने बताए । उनले अब वार्ता भए पनि दल दर्ता भएपछिमात्र सम्भव रहेको बताए ।
नेपाल समूहको बैठकमा एमालेका ६० जना केन्द्रीय सदस्य र २६ जना सांसद सहभागी भएको उनीहरुको दावी छ । पार्टीको विधान लगायतका विषयमा छलफल गरेर निर्वाचन आयोगमा सनाखतका लागि जाने बेलासम्म नेताहरुलाई रिसोर्टमा राखिनेछ ।
यस्तै आजै बसेको दोस्रो पुस्ताका नेताहरूले नेपाल अब कुनै पनि हालतमा एमालेमा नफर्कने निष्कर्ष निकालेको छ ।
यस अघि माधव नेपाल पक्ष भनिएका एमाले स्थायी कमिटी सदस्यहरू पार्टी विवाद समाधानका लागि अध्यक्ष ओलीसँग ‘निर्णायक’ छलफल गर्ने भन्दै ओली निवास बालकोट पुगेका थिए ।
‘बैठकमा सहभागी नेताहरूले माधव नेपालले अलग्गै बाटो हिँड्न संकल्पित गरेकाले अब उहाँ एमालेमा फर्कनुहुन्न भन्ने निष्कर्ष निकाल्नुभयो,’ बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले भने ।
‘अपिल गरे पनि वा अरू कुनै आधारबाट पनि माधव नेपाल फर्कने सम्भावना छैन भन्ने निष्कर्ष रह्यो,’ ज्ञवालीले भने, ‘उहाँहरू त जानुभयो तर निर्वाचन आयोगले सनाखतको लागि बोलाएको छ । थप साथीहरू त्यसमा नजानुहोस् भन्नका लागि भोलिको बैठकले केही आह्वान गर्ला ।’
तटस्थ बसेका नेताहरूले भनेजस्तै पार्टी २०७५ जेठ २ को अवस्थामा फर्किसकेको र पार्टी विभाजनमा नगएकाहरूलाई पुरानै जिम्मेवारीमा यथावत् रहने पनि ज्ञवालीले बताए ।
एमालेको पार्टी विवाद समाधानको लागि १० बुँदे सहमति कार्यान्वयन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली तयार भएका छन् । आज उनकै निवास बालकोटमा पार्टीका स्थायी कमिटी सदस्यहरूसँग भएको छलफल पछि ओलीले भदौ ८ गते विहान ११ बजे स्थायी कमिटी बैठक बोलाएको ज्ञवालीले जानकारी दिए ।








