घर न घाटको हुने भएपछि पार्टी विभाजन गर्नुपर्यो : माधवकुमार नेपाल



नेकपा (एकीकृत समाजवादी) का प्रस्ताविक अध्यक्ष माधवकुमार नेपाल पार्टी विभाजनको प्रक्रिया शुरु गरेपछि पहिलो पटक सञ्चारकर्मी माझ प्रस्तुत भएका छन् ।

मंगलबार नयाँ पार्टी गठनका लागि अग्रसर भएका पूर्वप्रधानमन्त्री नेपालले शुरुमै आफूहरु शान्त वातावरणमा छलफल गर्न चन्द्रागिरी पुगेको बताएका हुन् ।

सोमबारदेखि प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का सबै नेताहरु काठमाडौं उपत्यकाको कोलाहाल वातावरणबाट टाढा चन्द्रागिरी हिल्स रिसोर्टमा सो पार्टीका नेता तथा सांसदहरु बसिरहेका छन् ।

पत्रकारका अगाडि एमाले अध्यक्ष केपी ओलीप्रति निकै गुनासो पोखेका उनले शालिन शब्दमा ओलीको आलोचना गरे ।

उनले भने, ‘मैले जे भने पनि मिठो शब्दमा भनेको छु, उहाँको (ओली) पनि शब्द मिठो होस् ।’ उनले ओलीको बोली पनि मिठो हुँदै जाओस् भन्ने कामनासमेत गरे।

नेता नेपालले बुधबार निर्वाचन आयोगमा सनाखत गर्दा केन्द्रीय सदस्य र सांसद दुबैबाट संख्या पुर्याइने दावी गर्दै केन्द्रीय सदस्य र सांसद दुबैको संख्या पुगे सुनमा सुगन्ध हुनेसमेत बताएका हुन्।

आफूले पार्टी किन विभाजन गर्नुपरेको हो भन्ने विषयमा नेता नेपालले लामै समय खर्चिए । उनले एमालेको नवौं महाधिवेशनदेखि नेकपा बन्दा र त्यसपछिको अवधिमा एमाले अध्यक्ष ओलीले आफूमाथि अपमान गरेको, घर न घाटको बनाएको जस्ता आरोपहरु समेत लगाए ।

उनले ओली दक्षिणपन्थी भासमा भासिएको टिप्पणी गर्दै वामपन्थी धारलाई आफूहरुले जोगाउन नयाँ पार्टी बनाएको तर्क गरे ।

ओलीले प्रतिनिधिसभा विघटन गरेको कदमलाई प्रतिगमन भन्दै उनले पार्टीको नीति र सिद्धान्तभन्दा बाहिर जान खोज्दा आफूहरुले रोक्ने प्रयास गरेको तर ओलीले त्यसलाई ग्रहण गर्न नसकेको बताए ।

उनले आफूहरुलाई फागुन २८ पछि पेल्ने काम गरेको समेत बताए ।

केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनै पर्छ भन्ने निष्कर्षमा पुगेपछि काँग्रेस, माओवादी केन्द्र र जसपा लगायतका दलसँग सहकार्य गरेर आफूहरुले संसद, लोकतन्त्र र संविधानलाई जोगाएको उनले बताए ।

‘विचारमा भिन्नता हुनु स्वाभाविक हो, निर्णय गरिसकेपछि इमानदार पनि हुनुपर्छ । हामी इमानदार बन्यौँ,’ उनले भने, ‘अहिले यो विद्रोहमा उभिरहेको पंक्ति एकतावद्ध छ ।’

एमालेबाट आफूसहित १४ सांसदलाई निष्काशन गरेपछि आफूहरुसामु नयाँ दल गठन गर्नुको अर्को विकल्प नरहेको पनि उनले बताए ।

‘यस्तो अवस्थामा कि त घुँडा टेकेर बस्नुपर्थ्यो, कि त अर्को क्रान्तिकारी पार्टी बनाउनु पर्थ्यो,’ उनले भने, ‘अहिले पनि हामीले एकताको च्याप्टर क्लोज गरेका छैनौं । सिङ्गो देशलाई एकतावद्ध, कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध बनाउने हाम्रो अभियान हो । विचार, मन मिलेपछि एकता हुन्छ ।’

प्रकाशित मिति : भदौ ८, २०७८ मंगलबार  १ : ०६ बजे