नेकपा (एमाले)का ५५ जना केन्द्रीय सदस्यले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन्।
बुधबार निर्वाचन आयोग पुगेर ५५ जना केन्द्रीय सदस्यले सनाखत गरेपनि भारतको नयाँदिल्लीबाट सनाखत गरेका पूर्वप्रधानमन्त्री झलनाथ खनालको गणना हुन बाँकी रहेको छ।
खनालले नयाँदिल्लीस्थित नेपाली राजदूताबासमा गएर आज बिहान सनाखत गरेका थिए। राजदूताबासबाट जानकारी आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।
त्यस्तै, एकीकृत समाजवादीको पक्षमा एमालेका २९ जना सांसदले सनाखत गरेका छन्।
यससँगै थप चार जना केन्द्रीय सदस्य सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्। २ भदौमा दल दर्ताका लागि दिएको निवेदनमा नाम नभएकाले उनीहरूको सनाखतको विषयमा छलफल भइरहेको छ।
नयाँ थपिएका चार केन्द्रीय सदस्यमा दुई जना सांसद रहेको एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बताए। उनीहरूको सनाखतका लागि अध्यक्ष नेपाल नै आयोगका पदाधिकारीसँग छलफल गरिरहेका छन्।
एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि २० प्रतिशत केन्द्रीय सदस्य वा सांसद चाहिन्छन्। नेपालको पक्षमा केन्द्रीय सदस्यको संख्या २० प्रतिशतभन्दा बढी पुगिसकेको छ। त्यस्तै, नयाँ आएका सांसदले पनि सनाखत गर्न पाएमा सांसदको संख्या पनि २० प्रतिशत पुग्ने देखिएको छ।
उनीहरूको सनाखत पछि आजै नेपाललाई नयाँ दल दर्ताको प्रमाणपत्र दिने निर्वाचन आयोगको तयारी छ।








