एमाले केन्द्रीय समितिको बैठक सकियो, यस्ता छन् निर्णय



नेकपा एमालेले विधान अधिवेशन र राष्ट्रिय महाधिवेशन सार्ने भएको छ । बिहिबार बसेको केन्द्रीय समिति बैठकले विधान अधिवेशन र राष्ट्रिय महाधिवेशन सार्ने निर्णय गरेको हो ।

यसअघि भदौ अन्तिमा गर्ने भनेको विधान अधिवेशन र मंसिर दोस्रो साता तय भएको राष्ट्रिय महाधिवेशनको मिति परिवर्त गरेको हो । उपाध्यक्ष भीम रावलले दुवै अधिवेशनको मिति सारेको बताए ।

बैठकले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा गएका नेतालाई निष्कासन गर्ने निर्णय गरेको छ।

नयाँ पार्टीमा गएका नेतालाई कारबाही गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए। “नयाँ पार्टीमा गएका नेतालाई एमालेबाट निष्कासन गर्ने निर्णय गरेका छौं,” ज्ञवालीले भने।

एकीकृत समाजवादीमा गएका नेताको नाम पार्टीको अभिलेखबाट हटाउने निर्णय पनि गरेको छ। यससम्बन्धी निर्वाचन आयोगलाई जानकारी दिइने भएको छ।

नयाँ पार्टीमा गएका नेता तथा कार्यकर्तालाई एमालेमै फर्किन केन्द्रीय कमिटीले आग्रह गरेको छ। “फर्केर आउने साथीहरूलाई स्वागत गर्छौ, उनीहरूका लागि पार्टीको ढोका खुल्ला छ,” ज्ञवालीले भने।

यस्तै बैठकले नेकपा एमालेले पार्टी परित्याग गर्दै नयाँ दल खोलेकोमा माधवकुमार नेपालसहितका नेताहरूको अभिलेख पार्टीबाट हटाउने निर्णय गरेको छ।

‘पार्टी परित्याग गर्दै नयाँ दल खोल्नेहरूको पार्टी अभिलेखबाट नाम हटाउने र निर्वचन आयोगमा जानकारी दिने निर्णय भएको छ,’ प्रवक्ता ज्ञवालीले भने, ‘कसैले भूल महसुस गरेर सच्याउन चाहेर आएमा ढोका खुल्लै राख्ने निर्णय भएको छ।’

निर्वाचन आयोगबाट सनाखत गर्ने क्रममा विवादास्पद निर्णय भएकोमा त्यसविरूद्ध कानुनी लडाइँ लड्ने पनि एमालेले बताएको छ।

पार्टीले कारबाही गरेकाहरूलाई र अनुपस्थित रहेकालाई पनि आयोगले सनाखत गराएकोले कानुनी लडाइँ लड्ने निर्णय भएको ज्ञवालीले बताए।

पार्टीले सांसदबाट हटाउन सूचना दिए पनि सभामुखले सूचना टाँस नगरेर गम्भीर गल्ती गरेको प्रवक्ता ज्ञवालीले बताए। साथै उनले अध्यादेश संविधानविपरीत रहेको र स्थानीय तहका प्रमुखलाई दल त्याग गर्न सक्ने व्यवस्था राखेकोमा पनि विरोध गरेका छन्।

आजको बैठकले १० बुँदे प्रस्तावलाई शीघ्र कार्यान्वयनमा लैजाने निर्णय गरेको छ। त्यसका लागि सहजीकरण गर्न महासचिव ईश्वर पोखरेल, नेताहरू विष्णु पौडेल, गोकर्ण विष्ट र टोपबहादुर रायमाझीलाई जिम्मेवारी दिएको छ।

प्रकाशित मिति : भदौ १०, २०७८ बिहिबार  ४ : २० बजे