नेपाली कांग्रेसले निधाारि मितीमै वडा अधिवेशन सम्पन्न हुने जनाएको छ । पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले भदौ १८ देखि पार्टीको वडा अधिवेशन सुरु हुने बताएका हुन्।
महाधिवेशनका विषयमा अझै पनि भ्रम रहेको नेता–कार्यकर्तालाई उनले वडा अधिवेशनसँगै महाधिवेशन आरम्भ हुने भन्दै तयारीमा जुट्न आग्रहसमेत गरेका छन् ।
महामन्त्री खड्काले ट्विटरमा लेखेका छन्, ‘अब कहीँ–कतै भ्रम नरहोस् । अन्योल र अलमलमा नपरौँ । भदौ १८ गतेदेखि वडा अधिवेशन प्रारम्भ हुन्छ ।’
खड्काले थप लेखेका छन्, ‘वडा अधिवेशनसागै नेपाली कांग्रेसको १४औं महाधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ । पार्टीका सबै तहका नेता, पार्टी सदस्यहरू, शुभचिन्तकहरू हामी सबै पार्टीको महाधिवेशनरूपी महायज्ञमा जुटौं ।’
यस्तै कांग्रेसले शैक्षिक क्षेत्रलाई दलीय हस्तक्षेपबाट मुक्त गर्ने प्रस्ताव अघि सारेको हो । १४औँ महाधिवेशनको संघारमा रहेको कांग्रेसको शिक्षा विभागले प्रस्तावित ‘राष्ट्रिय शिक्षा नीति’ मा शिक्षक, प्राध्यापक र विद्यार्थीहरूलाई राजनीतिबाट अलग राख्नुपर्ने प्रस्ताव अघि सारेको हो ।
कांग्रेसले संविधानको मर्मबमोजिम अबको पाँच वर्षभित्र माध्यमिक तहसम्म अध्ययन गर्ने सम्पूर्ण विद्यार्थीलाई निःशुल्क तथा दश वर्षभित्र समान अवसरको शिक्षा प्रदान गर्ने व्यवस्था मिलाउनुपर्ने प्रस्ताव गरेको छ ।








