कांग्रेसले प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ ‘प्यासी’ अधिकारीलाई हटाउने तयारी गरेको छ । प्रदेश प्रमुख अधिकारीमाथि पार्टीको कार्यकर्ताजस्तै विधि र प्रक्रिया नपुर्याइ नयाँ मुख्यमन्त्री नियुक्त गरेको कांग्रेसको आरोप छ ।
बिहीबार मात्रै प्रदेश–१ मा शेरधन राईले राजीनामा दिएर भीम आचार्यलाई मुख्यमन्त्री बनाइएको थियो । हतार–हतारमा संसदीय दलको नेता परिवर्तन गरी आचार्यलाई मुख्यमन्त्री बनाइएको थियो । त्यसमा विधि र विधान मिचिएको आरोप कांग्रेसको छ ।
प्रमुख सचेतक केदार कार्कीले प्रदेश प्रमुखले संविधान बाहिर गएर काम गरिरहेको आरोप लगाए । उनले वर्तमान सरकार हटाएर नयाँ निर्माणमा एमाले बाहेकका सबै दल एकमत रहेको बताए ।
यस्तै प्रदेश १ का १० जना एमाले सांसद माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा लागेका छन् । एमालेका १० जना सांसदहरूले मंगलबार आफूहरूले समाजवादी दल रोजेको पत्र निर्वाचन आयोगलाई बुझाउने तयारी गरेका हुन् ।
एकीकृत समाजवादीका नेता राजेन्द्र राईले शनिबार विराटनगरको एक होटेलमा छलफल गरी आफूहरुले समाजवादी दल रोजेको पत्र निर्वाचन आयोगमा बुझाउने सामुहिक निर्णय गरेको बताए ।
एकीकृत समाजवादीमा न्यूनतम १४ जना प्रदेश सांसद पुर्याउने उनको दाबी छ । १० जना सांसदहरुमा राजेन्द्र राई, राजन राई, उपेन्द्र घिमिरे, सावित्री रेग्मी, खिनु लङ्वा लिम्बू, गणेश काङ्माङ, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, सुनिता चौधरी र सरिता थापा रहेका छन् ।








