नेकपा एमालेले अन्तरपार्टी निर्देशन जारी गर्दै विभाजनकारी गतिविधिमा लाग्नेको सशक्त विरोध गर्न कार्यकर्तालाई निर्देशन दिएको छ।
उक्त निर्देशन अध्यक्ष केपी शर्मा ओलीले जारी गर्दै विभाजनको पक्षमा नलाग्न पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिहरू आग्रह गरिएको हो ।
‘पार्टीभित्रका केही स्वार्थी र विभाजनकारी व्यक्तिहरूका क्रियाकलाप तथा पार्टी बाहिरका विभिन्न शक्ति र तत्त्वहरूको षडयन्त्रका कारण पार्टीले असहज स्थितिको सामना गर्नुपरेको छ’, ओलीले अन्तरपार्टी निर्देशनमा भनेका छन्।
गत साता सकिएको स्थायी कमिटी र केन्द्रीय कमिटीका निर्णयबारे जानकारी दिन उक्त अन्तरपार्टी निर्देशन जारी गरिएको हो। उक्त निर्देशनमा ओलीले असहज परिस्थितिको मिलेर सामना गर्न पनि नेता कार्यकर्तालाई आग्रह गरेका छन्।
‘केन्द्रीय कमिटी बैठकले पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिन र विभाजनकारी गतिविधिको सशक्त विरोध गर्न पार्टीका नेता र कार्यकर्ताहरूलाई आह्वान गरेको छ’, अपानिमा भनिएको छ, ‘कुनै हिसाबले विगतमा यस्तो गतिविधिमा संलग्न भएको भए पनि त्यसबाट अलग भएर पार्टीको पक्षमा उभिन तयार हुनेलाई बिना भेदभाव पार्टीमा स्वागत गरिनेछ।’
ओलीले गत असार २७ गते एकता कार्यदलले गरेको १० बुँदे सहमति कार्यान्वयनका लागि सहजीकरण गर्न सबै प्रदेशमा नेताहरूलाई जिम्मेवारी दिइएको छ। उक्त सहमति कार्यान्वयनका लागि ३२ नेतालाई जिम्मेवारी दिइएको हो।








