एमाले अध्यक्ष ओली निवासमा कानुनमन्त्री, यी बिषयमा भयो छलफल



कानून मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख प्रतिपक्ष दलका नेता एबम् एमाले अध्यक्ष ओलीसँग भेट गरेका छन् । कानून मन्त्री कार्की र एमालेका अध्यक्ष ओलीबिच संसद अधिवेशन सञ्चालनदेखि बजेट र अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्मका विषयमा कुराकानी भएको स्रोतको दावि छ ।

सरकार बनेपछि पहिलो पटक मन्त्रीले एमाले अध्यक्ष ओलीसँग भेट गरेका हुन् । कार्कीले मंगलबार साँझ ७ बजे ओलीलाई उनकै भक्तपुरस्थित बालकोट निवासमा पुगेर भेटेका हुन्।

‘एमाले अध्यक्षलाई मैले भेटेँको हो’, कार्कीले भने, ‘समसामयिक विषयमा राम्रै छलफल भएको छ। लोकतन्त्रलाई सुदृढ पार्दै संसदलाई प्रभावकारी बनाउने कुरा भएको छ।’

त्यस्तै ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट भदौ ३० गतेसम्म प्रतिस्थापन विधेयकमार्फत् सरकारले पास नगरे खारेज हुने अवस्थामा पुगेको छ। सरकारले अहिले नयाँ बजेटको तयारी गरिरहेको छ।

एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीले पहिलोपटक प्रतिपक्षी दलका नेतासँग भेटेको बताए।

नेम्वाङले अहिले बनेको गठबन्धन सरकारले प्रतिपक्षसँग सम्बन्ध नराखेको बताए। ‘उहाँहरुले सरकारमा आएपछि हेलो पनि गर्नुभएको थिएन’, नेम्वाङले भने, ‘यो ठिक होइन भनेर हामी भनिरहन्थ्यौँ।’

नेम्वाङले सत्तारुढ नेपाली कांग्रेसलाई प्रतिपक्षीसँग सम्बन्ध राख्नुपर्छ भन्ने लागेको हुनसक्ने बताए। नेम्वाङले सत्तापक्ष र प्रतिपक्षबीच सम्पर्क कायम राखेर अघि बढ्न आफूले कार्कीलाई सुझाव दिएको बताए।

‘सायद प्रतिपक्षीसँग पनि सम्बन्ध राख्नुपर्छ भन्ने निष्कर्षमा सरकार पुग्यो अथवा के भयो’, नेम्वाङले भने, ‘सरकारका कानून मन्त्रीले हेलो गर्न थाल्नुभयो।’

प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार  ११ : ४९ बजे