काठमाडौं । नेपाली कांग्रेसले भदौ १८ गतेदेखि सुरु गरेको वडा अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ भने बाँकी २१ जिल्लामा अधिवेशन गर्न क्रियाशील सदस्यको नाम नै सार्वजनिक भएको छैन।
यसपटक करिब तीन लाख क्रियाशील सदस्य युवा रहेको कांग्रेसले अधिकांश वडामा सर्वसम्मत तवरले नेतृत्व चयन गरेका छन् । कांग्रेसका क्रियाशील सदस्यहरू नै वडा तहका मतदाता हुन् भने उनीहरूमध्येबाट वडा सभापतिदेखि कार्यसमिति र क्षेत्रीय प्रतिनिधि पनि चयन हुन्छन्।
क्रियाशील सदस्यहरू पालिका प्रमुख र क्षेत्रीय सभापतिबाहेक पदाधिकारी, सदस्य र प्रतिनिधिका लागि पनि योग्य हुन्छन्। वडाबाट जनसंख्याको बनोटअनुसार १६ जनाको हाराहारीमा क्षेत्रीय प्रतिनिधिहरू चयन भइरहेका छन्।
एक सय ५० जनाभन्दा धेरै क्रियाशील भएको वडाबाट जनसंख्याको बनोटअनुसार क्षेत्रीय प्रतिनिधि पनि बढ्छन्। तिनै क्षेत्रीय प्रतिनिधिहरू पालिकाको कार्यसमिति चुन्ने मतदाता हुन्।
सम्बन्धित पालिका भित्रका वडा सभापतिहरू पनि पालिका अधिवेशनका मतदाता हुन्। यस्तै उनीहरू मध्येबाटै पालिकामा कार्यसमिति बन्नेदेखि प्रतिनिधि पठाउने काम पनि हुने व्यवस्था छ। यही भदौ २७ मा गाउँरनगर कार्यसमितिका लागि अधिवेशन हुने कांग्रेसले बनाएको कार्यतालिकामा उल्लेख छ।
गाउँरनगरमा पनि एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिवका लागि निर्वाचन हुन्छ। एक कोषाध्यक्ष मनोनित हो। सदस्यहरू पनि प्रत्यक्ष र समावेशी तर्फबाट रहने व्यवस्था विधानले सुनिश्चित गरिदिएको छ।








