सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा सुरु भएको छ।
प्रधानमन्त्री शेर बहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव लगायतको बैठक बालुवाटारमा सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।
बालुवाटारको बैठक अघि देउवा बाहेक गठबन्धनमा सामेल नेताहरुले हात्तीवनमा पनि छलफल गरेका थिए।
मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी), मन्त्रिपरिषद बिस्तार लगायतमा विषयमा खटपट भइरहेका बेला गठबन्धनका नेताहरुले संवादलाई तीब्रता दिएका छन्।
भदौ २२ गतेपछि सरकार बिस्तार हुने बताइएकोमा ढिलाइ भएपछि पनि गठबन्धनका नेताहरु बिच खटपट भएको हो। बुधवार नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन फुटाउन षड्यन्त्र भइरहेको बताएका थिए।
सरकार गठन भएको दुई महिनासम्म पनि बिस्तार हुन नसकेको विषयलाई लिएर आलोचना हुँदै आएको छ। माधवकुमार नेपाल तथा उपेन्द्र यादवले आफ्नो पार्टीबाट मन्त्रिका लागि सिफारिस नगर्दा शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्ण रुपमा काम गर्न सकिरहेको छैन।








