सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको मुद्दा स्थगित गरेको छ भने पूर्व मन्त्री तथा काँग्रेस नेता मोहम्मद अफताब आलमविरुद्धका मुद्दाको पेशी हेर्न नमिल्नेमा राखिएको छ ।
शुक्रवारमा सुनुवाइका लागि पेशी तोकिएकामध्ये महत्त्वपूर्ण मुद्दा मध्ये आलमविरुद्धका मुद्दाको पेशी हेर्न नमिल्नेमा राखिएको हो भने शाक्यको मुद्दा स्थगित भएको छ ।
आलमको मुद्दाको सुनुवाइका लागि न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयाँलको इजलासमा पेशी तोकिएकोमा शुक्रवार हेर्न नमिल्नेमा राखिएको हो ।
२०६४ साल चैत २७ गते रौतहटमा बम विस्फोट गराई व्यक्ति हत्यामा संलग्न भएको मुद्दामा रौतहट जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएसँगै आदेशविरुद्ध आलम सर्वोच्च अदालत पुगेकोमा पेशी सरिरहेको छ ।
यसैगरी प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरिएको निर्णय खारेजीको माग गर्दै हितेन्द्रदेव शाक्यले दायर गरेको मुद्दाको सुनुवाइका लागि शुक्रवार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा पेशी तोकिएमा सो पनि स्थगित भएको हो ।
यससँगै भदौ ८ गते प्रधानन्यायाधीश जबराको इजलासले भदौ ८ गते नियुक्तिसम्बन्धी मिसिल कागज झिकाउने आदेश गरेको थियो भने भदौ २० गते प्रधानन्यायाधीश जबराकै इजलासमा पेशी तोकिए पनि हेर्न नभ्याइनेमा राखिएको थियो ।








