एमालेका नेताहरु विरुद्ध बाध्य भएर मुद्धा दर्ता गरे : वली



लुम्बिनी प्रदेश सांसद विमला खत्री वलीले नेकपा एमालेका नेताहरु विरुद्ध बाध्य भएर मुद्धा दर्ता गरेको बताएकी छन् । उनले मंगलबार जिल्ला प्रहरी कार्यालय बुटवलमानिवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र नेकपा एमालेहरु विरूद्ध उजुरी दिएकी हुन् ।

उनले पोखरेलसहित चारजनाविरूद्ध ‘शरीर बन्धक तथा अपहरण’ गरेको आरोपमा किटानी जाहेरी दिदै वलीले पोखरेल मुख्यमन्त्री रहँदा साउन १५ गतेदेखि ५ दिनसम्म आफूलाई दाङबाट ल्याएर मुख्यमन्त्री निवासमा बन्धक बनाएको दावी गरेकी छन् । त्यस घटनामा उनले निवर्तमान मुख्यमन्त्री पोखरेल, लुम्बिनी प्रदेशसभा एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको निजी सचिवालयका तिरन गौतम र एमाले दाङका नेता मानबहादुर रावतविरुद्ध कारबाहीको माग गरेकी छन् ।

‘म त्यो बेला मुद्दा मामिला गर्ने पक्षमा थिइनँ’ सांसद वलीले भनिन्, ‘तर पछि मलाई राजनीतिकरुपमा सिध्याउने हिसाबले उहाँहरु लागेपछि वाध्य भएर मुद्दा दर्ता गर्ने निर्णयमा पुगेकी हुँ ।’

आफूले माओवादी केन्द्र रोजेपनि एमालेले आफ्नै पार्टी दावी गर्दै कारवाहीको प्रक्रिया थालेको र छोरालाई उक्साएर अंश मुद्दा दर्ता गरेपछि आफूलाई असह्य भएको ओलीले बताइन् । ‘मलाई उहाँहरूले सिध्याउन हरेक हतकण्डा अपनाउनुभयो, मलाई शान्तसँग बस्नै दिनुभएन’ सांसद वलीले भनिन्, ‘अब म पनि चुप लागेर बस्ने अवस्थामा रहिनँ, अब कानुनी लडाईंमै उत्रिएँ ।’

वलीलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै एमालेले लुम्बिनी प्रदेश सभा वैठक लगातार अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : भदौ ३०, २०७८ बुधबार  १ : ५५ बजे