देउवाले सिटौला र लेखकलाई काठमाडौं बोलाए



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले क्रियाशील सदस्यता विवाद टुंग्याउन गृहजिल्लामा रहेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र केन्द्रीय सदस्य रमेश लेखकलाई शुक्रबार काठमाडौं बोलाएका छन् ।

क्रियाशील सदस्यता विवाद टुंग्याउन कांग्रेसले सिटौलाको संयोजकत्वमा केन्द्रीय सदस्य लेखक र अर्का केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल रहेको तीन सदस्यीय कार्यदल गठन गरिएको थियो । कार्यदल सदस्य रिजाल भने काठमाडौंमै छन् ।

कार्यदलले सदस्यता विवाद टुंगिएको भने पनि कार्यान्वयनमा भने सहमति जुट्न सकेको छैन । ६४ जिल्लामा वडाअधिवेशन सम्पन्न भइसक्दा १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ ।

शुक्रबार सिंहदरबारमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा नेताहरुले बाँकी १३ जिल्लाको क्रियाशील सदस्यता छिटो टुंग्याउनुपर्ने माग गरेपछि सभापति देउवाले कार्यदलका सदस्यहरुलाई काठमाडौं बोलाउन निर्देशन दिएको एक नेताले बताए ।

प्रकाशित मिति : आश्विन ८, २०७८ शुक्रबार  २ : ३२ बजे