दशैँको घटस्थापना (आज)देखि देशभरका सिनेमाघरहरू पुनः सञ्चालनमा आएका छन्।हलिउड चलचित्र ‘फास्ट एन्ड फ्यूरियस ९’को प्रदर्शनसँगै कोरोनाभाइरसको सङ्क्रमण जोखिमका कारण ठप्प रहेका सिनेमाघरका पर्दा चलायमान भएका हुन्।
दर्शकको उपस्थिति न्यून रहेको अवस्थामा फिल्म निर्माता एवं प्रदर्शकहरूलाई विभिन्न राहत तथा सहुलियत प्रदान गरी हल सञ्चालनमा ल्याएको चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले बताए।
उनले भने,”निर्माताहरूलाई प्रोत्साहित गर्नका लागि विभिन्न राहत प्याकेज अघि सारेका हौँ। अब नेपाली चलचित्र क्षेत्रलाई चलायमान गर्न हल सञ्चालनमा ल्याउनुको विकल्प छैन।”
विकास बोर्डले पुस मसान्तसम्ममा प्रदर्शन मिति तय गर्ने चलचित्रको इन्कोडिङ खर्च, भीपीसी शुल्क र प्रचार छपाइ व्यहोर्ने भएको छ।
दाहालका अनुसार उक्त चलचित्रहरूले १२ वटा राष्ट्रिय टेलिभिजनहरूमा ५० प्रतिशत छुटमा प्रचार सामग्री प्रसारण गर्ने सुविधा बोर्डले उपलब्ध गराएको छ।
त्यस्तै चलचित्र छायाङ्कनका लागि बिमा गर्ने निर्माताले बोर्डको तर्फबाट डेढ लाख रुपैयाँ पाउने दाहालले बताए।
“चलचित्र व्यवसायीहरूलाई मर्का नपर्ने गरी योजना अघि सारेका छौँ। बिस्तारै नेपाली चलचित्र प्रदर्शनमा आउँछन्। दर्शक हलसम्म आउँछन् कि आउँदैनन् भन्ने चाहिँ चुनौतीको विषय हो,” दाहालले भने।बिबिसी नेपालिबाट