नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली चुनावी तयारीमा होमिएका छन्। उनी वर्तमान संसदले राजनीतिक निकास दिन नसक्ने भन्दै ताजा जनादेशमा जानुपर्ने बताउँदै आएका छन्।सत्तासीन नेपाली कांग्रेसको एउटा तप्का नै मध्यावधि (अर्ली इलेक्सन) मा जानुपर्ने लवइङ गर्दै आएको र गत साता गृहप्रदेश सुदूरपश्चिम जाँदा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाले ताजा जनादेशबारे सत्ता गठबन्धनसँग छलफल गर्ने बताएपछि ओली झनै हौसिएका हुन्।
किनकि अहिल्यै अवस्थामा वैसाखभित्र मध्यावधि चुनाव भएमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभन्दा आफ्नो पार्टी एमाले अगाडि हुने ओली पक्षीय आँकलन छ। सत्ता गठबन्धन चुनावी गठबन्धनमा परिणत नहोस् भन्ने चाहाना छ ओलीको ।
आगामी वैशाखभित्र स्थानीय तहको चुनाव गर्नुपर्ने प्रस्ताव निर्वाचनआयोगले गरिसकेको छ। चुनावको खर्चमा मितव्ययिता अपनाउन तीन तहकै चुनाव एकैपटक गर्नुपर्ने माग पनि उठिरहेका बेला ओलीले गृहजिल्ला झापाबाट चुनावी माहोल बनाउन थालेका छन्।
एमाले झापाका जिल्ला अध्यक्ष चिन्तन पाठककाअनुसार पछिल्लो समय ओलीको गृहजिल्ला आउजाउ बढेको छ। पछिल्लोपटक दुई दिवसीय यात्राका क्रममा आइतबार झापा पुगेका ओलीले भाषणभन्दा पनि भेटघाट तथा अरुको कुरा सुन्नमै समय व्यतित गरे। भद्रपुर विमानस्थल हुँदै ओली सुरुमा आफ्नो पिता मोहन ओलीको निवास भद्रपुर(१ पृथ्वीनगर पुगे । जहाँ उनका ९३ वर्षीय पितासँगै भाइ बुहारी बस्छन्।
ओली आफ्नो पुर्ख्यौली निवास पुग्दा उक्त घर पार्टी कार्यालयजस्तै देखिन्थ्यो। आफन्त, छरछिमेक र नेता कार्यकर्ता तथा शुभचिन्तकको भीड लागेको थियो। ओलीले भ्याएसम्म शुभचिन्तक तथा छिमेकीसँग तस्बिर खिचाउने र सञ्चोबिसञ्चो भलाकुसारी गरे। कतिसम्म भने एकजना महिला शुभचिन्तक कुमारी लिम्बुले सधै फोटोमा मात्रै देखेको भन्दैमास्क खोल्न आग्रह गर्दा ओलीले मास्कमात्रै खोलेनन् नजिकै बोलाएर तस्बिर पनि खिँचाए। के कसो भनेर हालखबर सोधे।
त्यहाँबाट बिर्तामोडस्थित बृहत् पार्टी प्रवेश कार्यक्रममा प्रमुख अतिथि बनेर पुगेका ओलीले चुनावी शैली अपनाए। एकातिर सुवास नेम्वाङ, अग्नी खरेल, भानुभक्त ढकाल लगायत टीका लगाएर पार्टी प्रवेश गराउँदै थिए भने अर्कोतिर ओली मञ्चमा बच्चादेखि वृद्धसम्म भेट्दै फोटो खिँच्दै थिए। दूधे बालकलाई काखमा राख्नेदेखि वृद्ध आमाबाट आशिर्वाद लिनसम्म भ्याए। एकातिर नेताहरु भाषण गर्दै थिए भने ओलीको ध्यान नेता कार्यकर्ताका छोराछोरी बोलाएर मञ्चमै तस्बिर खिचाउने, वृद्धवृद्धाबाट आशिर्वाद लिने, युवासँग भलाकुसारी गर्नमै वित्यो। कतिसम्म भने दुईजना किशोरीले पेन्सिलले कोरेको आफ्नो चित्रसहित फ्रेम तस्बिर ग्रहण गर्न भ्याए । किशोरीको पढाईबारे सोध्दै धन्यवाद दिए।
कांग्रेसबाट संविधानसभा सदस्य रही एमाले प्रवेश गरेका अमृतराज रावकी वृद्ध आमाको हातबाट पनि आशिर्वाद लिन भ्याए ओलीले। अमृतकी आमाले ओलीको शीरमै हात राखेर सफल हुनु, फेरि प्रधानमन्त्री बन्नु भन्ने आशिर्वाद दिइन्। उनले आशिर्वाद दिँदा टाउकोमै हात राख्दा ओलीको ढाका टोपी खल्बलियो। ओलीले टोपी उतारे। फेरि मिलाएर लगाए।
यो समारोहमा ओली धेरै बोलेनन्। उनले दुर्गा प्रसाईदेखि लेखराज भट्ट, सुवास नेम्वाङसम्मबोल्न अघि सारे। आफू थोरै बोले। अन्य कार्यक्रममा घण्टौं बोल्ने ओली यहाँ भने बोल्ने भन्दा अनौपचारिक रुपमा भेट्ने र अरुका कुरा सुन्नमा केन्द्रीत रहे। सम्बोधनका क्रममा पनि उनी विपक्षीप्रति त्यति आक्रामक देखिएनन्। बरु एमाले पार्टी कस्तो हो, के के काम गर्योक, अब देश बनाउने एमाले नै हो, अरुले सक्तैन भन्ने खालको धारणा राखे।








