गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान सरकारले सबैलाई साथमा लिएर देश बनाउने दृढ विश्वासका साथ अगाडि बढेको बताएका छन । उनले साना काम गर्दा पनि समाजमा नयाँ परिवर्तन आउने भएकाले वर्तमान सरकार देश र जनताका पक्षमा क्रियाशील रहेकोसमेत बताए ।
नेपाली कांग्रेस सिद्धार्थनगर नगर समितिले आज भैरहवामा आयोजना गरेको स्वागत, सम्मान तथा बधाई कार्यक्रममा उनले मुलुकका उद्योगी व्यवसायीको सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताए । उनले उद्योगी व्यवसायीको पूर्ण सुरक्षाको व्यवस्था गर्न सुरक्षा निकाय र स्थानीय प्रशासनलाई निर्देशनसमेत दिए ।
गृहमन्त्री खाँणले प्रहरी, प्रशासनले जनतालाई शान्ति सुरक्षालगायत नागरिकको दैनिकी सहज बनाउन साथ दियो कि दिएन यसको आमनागरिकले पनि समुचित मूल्याङ्कन गर्नुपर्ने बताउँदै भने, “प्रहरी जनताको साथी भएकाले प्रहरीप्रति पनि सम्मानजनक व्यवहार गर्नुपर्छ ।”
गृहमन्त्री खाँणले प्रहरी कार्यालयमा जाने हरेक नागरिकलाई प्रहरीले सम्मानजनक व्यवहार गर्न निर्देशन दिँदै कोभिड महामारीको रोकथाममा प्रहरी प्रशासनको योगदानको सराहनासमेत गरे । उनले महामारीमा अग्रमोर्चामा रहेर काम गर्ने नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, सफाइकर्मी, स्वास्थ्यकर्मीलगायत सबैलाई सरकारको तर्फबाट धन्यवाद दिए ।








