कात्तिक २७,काठमाडौं, अर्थमन्त्री जनार्दन शर्माले माओवादी केन्द्र निकट पत्रकारलाई भ्रष्टाचार र अनियमितताकाको विरुद्धमा कुनै पार्टी वा नेताको मुख नहेरी त्यसको सशक्त भण्डाफोर गर्न आग्रह गरेका छन् । पोखरामा आयोजित प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् ।
शर्माले ‘गलत क्रियाकलापका विरुद्ध आफ्नो अर्को हेर्ने होइन, त्यसको विरोधमा कलम चलाउनुस् । मैले कुनै गल्ती गरेँ भने मेरो पनि भण्डाफोर गर्नुस्’ उनले भने ।
देशमा आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि सरकारले काम गरिरहेको उल्लेख गर्दै मन्त्री शर्माले उत्पादन र रोजगारी सृजनाको पक्षमा समेत कलम चलाउनुपर्नेमा जोड दिए । सरकार सदैव प्रेस स्वतन्त्रताको पक्षमा रहेको उनको भनाई छ ।
मन्त्री शर्माले पत्रकारहरुको क्षमता अभिवृद्धि गर्न तालिम सञ्चालन गर्नका लागि आवश्यक परे सरकारको तर्फबाट सहयोग हुने विश्वास समेत दिलाए ।










