३मंसिर काठमाडौं ।नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच महाधिवेशन केन्द्रित छलफल भएको छ। सिंहलाई भेट्न कोइराला आज अपरान्ह उनकै निवास ठमेलस्थित चाक्सीबारी पुगेका थिए। उनीहरूबीच महाधिवेशनमा मिलेर जाने विषयमा छलफल भएको छ।
उनीहरू दुबै कांग्रेस सभापति पदका आकांक्षी हुन्। महाधिवेशनमा सहकार्य गरेर जाने र फेरि छलफल गरेर उचित निर्णयमा पुग्ने समझदारी बनेको स्रोतले जानकारी दियो। सिंह र कोइरालाबीच पावर सेयरिङ गरेर जानेलगायत विषयमा छलफल भएको थियो।
कोइरालाले आफू सभापति मात्रै हुने, प्रधानमन्त्री नहुने र एक कार्यकालमात्रै सभापति हुने बताइरहेका छन्। सिंह पनि आफू सभापति हुने बरू प्रधानमन्त्री छोड्न सकिनेजस्ता कुरा गर्छन्। सिंह र कोइरालाबीच लामो समयदेखि महाधिवेशनमा सहकार्य गरेर जाने विषयमा छलफल भइरहेको छ।
कांग्रेसको महाधिवेशन आउन तीन सातामात्रै बाँकी हुँदा सिंह र कोइराला महाधिवेशनमा दिने उम्मेदवारीबारे कुराकानी भएको हो।










