मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुवाचुङ नगरपालिकामा, पाँच राजनैतिक दलका प्रमुख एउटै वडाका



 

खोटाङ हलेसी तुवाचुङ नगरपालिकामा पाँच राजनैतिक दलका प्रमुख एउटै वडाका छन् । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको नगर कमिटी अध्यक्ष सबै एउटै वडाका हुन् । पाँचै पार्टीले हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका नेताहरूलाई नगर कमिटीको प्रमुखको जिम्मेवारी सुम्पिएका छन् । एमालेले दुर्छिमका डिल्ली चाम्लिङ, कांग्रेसले चक्रकुमार राई, माओवादी केन्द्रले राजुबिक्रम चाम्लिङ, जनता समाजवादी पार्टीले मबिन्द्र राई र नेकपा एकीकृत समाजवादीले मकर राईलाई नगर कमिटिको अध्यक्ष बनाएको छ ।

१ चैत ०७५ संघीय समाजवादी फोरम हाल जनता समाजवादी पार्टीले दुर्छिमका मबिन्द्रलाई नगर कमिटीको अध्यक्ष चुनेको थियो । संघीय समाजवादी र नयाँ शक्ती मिलेर बनेको संघीय समाजवादीले २७ जेठ ०७६ मा र जसपासँग मिलेर बनेको जनता समाजवादीले पनि २७ भदौ ०७७ मा मबिन्द्रलाई नगर कमिटी अध्यक्षमा निरन्तरता दियो । त्यसपछि संयोगवश वा नियतवश क्रमशः अन्य दलले पनि दुर्छिमकै नेतालाई नगर कमिटीको अध्यक्ष चयन गरेका हुन् ।

११ वडा रहेको नगरपालिकामध्ये दुर्छिमको प्रतिनिधित्व राजनितीमा बढी भएका कारण सबैजसो पार्टीले दुर्छिमका नेतालाई नगरको नेतृत्वमा विश्वास गरेको जसपाका नगर अध्यक्ष राईले बताउँछन् । ‘दुर्छिमकै डिल्लीसेर राई, नयनकुमार राई जस्ता नेताले २०२६ सालमा दुर्छिम मावि स्थापना गर्नु भयो । विद्यालय स्थापना भएपछि यहाँका नागरिक शिक्षित भए । राजनैतिक चेतनाको विकास भयो, राजनीतिप्रति चासो जगाए,’ उनले भने, ‘संख्यात्मक हिसाबले राजनीतिमा यहीँकै मान्छे बढी सहभागी हुन पुगे । यही कारण सबै दलको नेतृत्व दुर्छिमले पाएको जस्तो लाग्छ ।’

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  १ : २६ बजे