मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस बागलुङ सभापतिमा शेरचन निर्वाचित



नेपाली कांग्रेस बागलुङको जिल्ला सभापतिमा जीतबहादुर शेरचन निर्वाचित भएका छन् । कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आइतबार भएको दोस्रो चरणको मतदानबाट संस्थापन पक्षका उम्मेदवार शेरचनले आठ सय ७३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचिन भएका हुन् । उनका प्रतिस्पर्धी जगदीशचन्द्र उपाध्यायले ७६८ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । शनिबार पहिलो चरणको निर्वाचनमा तीन उम्मेदवारबीच मतदान हुँदा कसैले पनि विधानले व्यवस्था गरेअनुसार ५० प्रतिशत बढी मत नल्याएपछि पुनः मतदान भएको थियो ।

कांग्रेस विधान २०१७ (संशोधनसहित) अनुसार पहिलो चरणको निर्वाचनमा सभापतिका लागि कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउनुपर्ने उल्लेख छ । दोस्रो चरणको निर्वाचनमा बढी मत ल्याउने उम्मेदवार सभापति हुने व्यवस्थाअनुसार शेरचन दोस्रो चरणको निर्वाचनबाट सभापति बनेका हुन् । पहिलो चरणको निर्वाचनमा सभापतिको उम्मेदवार द्रोण कुँवरले दोस्रो चरणको निर्वाचनमा शेरचनलाई सघाएका थिए ।

जिल्ला उपसभापतिमा सागर छन्त्याल र तारानाथ पौडेल विजयी भएका छन् । छन्त्यालले सात सय ८७ र पौडेलले सात सय ४७ मत प्राप्त गरे । जिल्ला सचिवमा उपाध्याय प्यानलका हरिहर शर्मा र शेरचन प्यानलबाट गण्डकी थापा अधिकारी निर्वाचन भएका छन् । सहसचिवमा  फमबहादुर खत्री र ज्ञानकुमारी शर्मा विजयी भएको मुख्य निर्वाचन अधिकृत शर्माले बताए ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  १२ : ३८ बजे