लिम्बू समुदायको आफ्नै भाषा, लिपी, संस्कार, संस्कृति छ । जन्मदेखि मृत्युसम्ममा यो समुदायले गर्ने विधि र परम्परा मुन्धुम धर्मशास्त्रमा आधारित छ । लिम्बू समुदायमा मुन्धुम वाचन कवितात्मक हुन्छ। लयात्मक हुन्छ । मुन्धुमसाबा वा जान्ने बुझ्नेले यसलाई लोककथाका रूपमा सुनाउँदै आएका छन् । समय कालसँगै मुन्धुममा विषय र लय सिर्जनातात्मक पनि बनाउँदै लगेका हुन्छन् भने लिम्बू पुरोहित जस्तै फेदाङ्बारसाम्बाले विशेष धार्मिक पूजा, सामाजिक कर्मकाण्ड, साँस्कृतिक अनुष्ठान र धार्मिक पूजामा यसको शास्त्रीय पक्षलाई गाउँदैरबचाउँदै ल्याएका छन् ।
लिम्बू समुदायको पछिल्लो पुस्तामा मुन्धुम लोप हुँदै गएपछि किराँत याक्थुङ चुम्लुङ केन्द्रीय कार्यसमितिले दोस्रो याक्थुङ मुन्धुम गोष्ठी तेह्रथुमको छथर गाउँपालिका(५ ओख्रे स्थित ताक्लुङ गढीमा आयोजना गरेको छ । गोष्ठीमा मुन्धुमको थप खोजी बारे छलफल भएको थियो । चुम्लुङले विगतका बर्षदेखि नै मुख्य त लिम्बू आदिवासीको भाषिक,साँस्कृतिक, सामाजिक तथा आर्थिक विकाससम्बन्धी काम गर्दै आएको केन्द्रीय अध्यक्ष योगराज वानेमले बताए । साँस्कृतिक गतिविधिहरूमा मुन्धुम लिम्बू आदिवासीको मौलिकपन भएको र विन दर्शनमा आधारित भएको महत्वपूर्ण दस्तावेजका साथै सामाजिक कार्य अघि बढाउने संस्कार संस्कृतिसँग सम्बन्धित रहेको अध्यक्ष वानेमको भनाइ छ । उनी भन्छन्, ‘चुम्लुङले मुन्धुमसम्बन्धी विभिन्न चर्चा परिचर्चा व्याख्या विश्लेषण गर्दै आएको र समाजमा व्यापक बनाउने उदेश्यका साथ मुन्धुम गोष्टी गर्दै आएका छौं । गोष्ठी ऐतिहासिक तथा साँस्कृतिक स्थलमा प्रयोगात्मक रुपमा गरेका छौ । मुन्धुमहरू धेरै खण्ड भए पनि यहाँ सृष्टिसम्बन्धी १० वटा यक गडी बनाएर छलफल र बहस गरेका छौ ।’
गोष्ठीमा पूर्वी नेपालका नौ जिल्ला र राजधानी काठमाडौंसहित मुन्धुमविद्हरूको सहभागीता रहेको थियो । गोष्ठीले कम्तीमा भोलिको पुस्तालाई मुन्धुमको महत्व बुझाउने कालाकार तथा मुन्धुमका खोजकर्ता यासेली योङहाङले बताए । मुन्धुमको प्रचलन दिनानु दिन कम हुँदै गएको कारण खिईदै गएको र लिम्बु समुदायमा पनि मुन्धुम बारे फरक फरक बुझाइ बन्न थालेकोले एकताको सन्देश दिनु पर्ने उनको भनाइ छ ।
लोप हुँदै गएको मुन्धुम बारे जसको सवाल उसको अगुवाइको हिसाबले अगाडि बढ्नु पर्ने छथर गाउँपालिका अध्यक्ष सन्तोष तिगेलाले बताए । उनी भन्छन्, ‘नयाँ पुस्ता र पुरानो पुस्ताले मुन्धुम संरक्षणमा चासो देखाउन आवश्यक छ । सरोकारवालासँग मुन्धुमसम्बन्धी व्पयापक छलफल गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्दै जानु पर्ने यदि यसो नगरिए कागजीय रुपमा मात्रै सिमित हुनेछ ।’









