नेतृत्वकै कारणले पार्टी कमजोर अवस्थामा पुग्यो : प्रकाशमान सिंह



नेपाली काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह पार्टीको नेतृत्व चयन गर्दा ध्यान पुर्याउन कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ । हेटौडामा भएको काँग्रेस बागमती प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेता सिंहले नेतृत्वकै कारण पार्टी कमजोर अवस्था पुगेकाले नेतृत्व चयन गर्दा ध्यान पुर्याउन आग्रह गर्नु भएको हो ।

‘नेतृत्व चयन गर्दा होस नपुर्याउने, अनि काँग्रेसले काम गरेन भनेर गुनासो गर्ने ?’ उहाँले भन्नु भयो ‘नेतृत्वकै कारणले पार्टी कमजोर अवस्थामा आएको छ । नेतृत्व चयन गर्दा तपाईहरुले ध्यान दिनु पर्दछ ।’
साथै उहाँले काँग्रेसको नेतृत्वमा संविधान जारी गर्दा पनि जनताले नेतृत्वकै कारण भोट नदिएको बताउँनु भयो । ‘संविधान जारी गरी जनतामा जाँदा दुई तिहाई त काँग्रेसले पाउनु पर्ने हो । तर कम्युनिष्टहरुले प्राप्त गरे।’ नेता सिंहको भनाई थियो । संविधान जारी काँग्रेसले गरेको र संस्थागत तथा लागू गर्ने जिम्मेवारी पनि काँग्रेसमा नै रहेको उहाँले टिप्पणी गर्नु भयो । जनताले अपेक्षा गरेको परिवर्तन हुन अझै बाँकी रहेको नेता सिंहले बताउनु भयो ।

उहाँले समयमा नै ख्याल नगरे लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरु गुम्ने खतरा रहेको जिकिर गर्नु भयो । कम्युनिटहरुले प्राप्त उपलब्धीहरु नष्ट गर्न लागि परेको उहाँको आरोप छ । करीब दुईतिहाइको सरकार हुँदा पनि कम्युनिष्टहरु संघीयता कार्यन्वनका समेत असफल भएको उहाँले बताउनु भयो ।

नेता सिंहले अब देशमा आर्थिक क्रान्ति गर्नु पर्ने समय आएको भन्दै त्यसको नेतृत्व पनि काँग्रेसले नै गर्नु पर्ने बताउनु भयो । काँग्रेसको नेतृत्वमा मात्रै मुलुकमा आर्थिकक्रान्ति सम्भव भएको उहाँको दाबी छ । जनताको जिवन र जिविको पार्जन सहज बनाउनको लागि आर्थिक कार्यक्रम ल्याउनु पर्नेमा उहाँको जोड छ । अबको अर्थिक क्रान्ति जनताको स्वास्थ्य उपचार निशुल्क गुणस्तरीय शिक्षामा केन्द्रित हुनुपर्ने उहाँले बताउनु भयो ।

प्रकाशित मिति : मंसिर १६, २०७८ बिहिबार  ४ : ११ बजे