दक्षिण अफ्रिकाका अस्पताल कोभिड बिरामीले भरिए



कोभिडको नयाँ भेरियन्ट अ‌ोमिक्रोन देखिएपछि दक्षिण अफ्रिकाका अस्पतालहरु बिरामीले भरिएका छन् । अस्पतालमा बिरामी भरिएपछि दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामापोसाले सम्पूर्ण नागरिकहरुलाई खोप लगाउन अ‌ाह्वान गरेका छन् । यसअघि दैनिक १६ हजार संक्रमित भेटिने गरेकोमा पछिल्लो २४ घन्टामा दक्षिण अफ्रिकामा २३ हजार संक्रमित भेटिएका छन् ।

दक्षिण अफ्रिकाको सरुवा रोगका लागि राष्ट्रिय संस्था ९एनअ‌ाइसीडी० का अनुसार पछिल्लो समयमा संक्रमणमा भएको बृद्धि अप्रत्यासित हो । देश कोभिडको चौथो लहरमा प्रवेश गरिसकेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।  दुर्भाग्यवश अहिले दैनिक अस्पताल भर्ना हुने बिरामीको संख्या दोब्बरले बढेको छ, संक्रमक रोग विज्ञ इयान साने भन्छन् । संक्रमितको संख्यामा बृद्धि भएकोले त्यसका लागि तयारी हुन उनले अस्पताललाई अ‌ाग्रह गरेका छन् । अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ ।

दक्षिण अफ्रिकाको मेडिकल रिसर्च काउन्सीलका प्रमुख डा फरिद अब्दुल्लाहले जोहेनसवर्ग र तास्वानेमा अस्वभाविक रुपमा संक्रमित बढेको बताएका छन् । देशकै सबैभन्दा ठूला सहर रहेको गउटेन प्रान्तमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् । अधिकांश विरामीले खोप नलगाएको र डरलाग्दो संख्यामा बालबालिका संक्रमित भएको चिकित्सकहरुले बताएका छन् ।

 

प्रकाशित मिति : मंसिर २१, २०७८ मंगलबार  १ : २१ बजे