नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए । उनीहरुमध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका छन् । यद्यपि निर्वाचन समितिले आधिकारिक रुपमा घोषणा गरिसकेको छैन । कांग्रेस महामन्त्रीको निर्वाचन परिणामपछि उम्मेदवार विश्वप्रकाश शर्मा सुन्दरीजलस्थित विपी संग्राहलय जाने भएका छन् । दुई जना महामन्त्रीको लागि भएको निर्वाचनको परिणाम आउनै लाग्दा उनले आफू विपी संग्राहलय जाने बताएका हुन् ।
महामन्त्रीमा गगनकुमार थापासँगै आफू निर्वाचित हुने निश्चित जस्तै देखिएपछि पार्टी कार्यालय सानेपामा कार्यकर्ता र सञ्चारकर्मीसँग शर्माले आफूले उम्मेदवारी घोषणा गरेको स्थान विपी संग्राहलय सुन्दरीजल जलमा जाने बताएका हुन् ।‘परिणाम सार्वजनिक भएपछि मैले उम्मेदवारी घोषणा गरेको स्थान सुन्दरीजल जेल जानेछु,’ शर्माले भने । पछिल्लो विवरणअनुसार महामन्त्रीमा थापा र शर्माले अग्रता लिएका छन् भने उनीहरूलाई प्रकाशशरण महतले झिनो मतले पछ्याइरहेका छन् ।








