आयोगले थाल्यो स्थानीय तह निर्वाचनको तयारी, छलफल गर्न बोलायो सर्वदलीय बैठक



निर्वाचन आयोगले शुक्रबार सर्वदलीय बैठक बोलाएको छ । आगामी स्थानीय तहको निर्वाचन र राष्ट्रिय सभा निर्वाचनको अहिलेसम्मको तयारीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

बैठकको मुख्य एजेन्डा स्थानीय तहको निर्वाचननै भएको र दलहरूलाई बैठकको लागि पत्र लेखिसकिएको प्रमुख आयुक्त थपलियाले जानकारी दिए ।छलफलमा तीन एजेन्डाहरु मतदाता नामावलीको राष्ट्रिय सभा निर्वाचन तयारी बारे र स्थानीय तहको निर्वाचन रहेको जानकारी उनले दिए ।संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतालाई सर्वदलीय बैठकमा आमन्त्रण गर्दै पत्र लेखेको निर्वाचन आयोगले जानकारी दिएको छ ।

“पर्सि शुक्रबार बिहान ११ः३० बजेका लागि सर्वदलीय बैठक आह्वान भएको छ । सम्बन्धित राजनीतिक दलका अध्यक्ष वा राजनीतिक दलले सम्पर्कका निम्ति आयोगलाई उपलब्ध गराएका व्यक्तिलाई बैठकमा उपस्थित हुन पत्राचार गरेका छौँ”, प्रमुख निर्वाचन आयुक्त तथा आयुक्तहरूको उपस्थितिमा सर्वदलीय बैठक हुने जानकारी दिँदै आयोगका प्रवक्ता शालिग्राम शर्माले भने ।

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका सम्बन्धमा गत पुस ९ गते नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर वैशाख १४ र २२ गते स्थानीय तहको चुनावका विषयमा प्रस्ताव गरेको थियो। तर, यस बारेमा सरकारले निर्णय गरिसकेको छैन।

प्रकाशित मिति : पुस २८, २०७८ बुधबार  ५ : ३४ बजे