नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ्ले वैशाखभित्र स्थानीय तहको निर्वाचन हुने बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले स्थानीय तहको निर्वाचनको विषयमा सत्तारुढ दलहरुबीच सहमति भइसकेको बताए ।
उहाँले भने,“सत्तारुढ दलहरुबीच सहमति भइसकेको छ । निर्णय हुन मात्रै बाँकी हो ।” निर्वाचनको विषयमा दुई चार दिनभित्रै निर्णय आउने उनको भनाइ छ । स्थानीय निर्वाचनदेखि आम निर्वाचनसम्म दलहरु गठबन्धन नगरी निर्वाचनमा जाने उनले बताए । उनले भने, “वैचारीक कुरा गर्ने हो भने बहुलबादमा आधारित संसदीय पद्धतिमा आ–आफ्नो घोषणा पत्र लिएर निर्वाचनमा जाने हो ।”उनले राजनीतिक दल आफ्नो एजेन्डा, दृष्टिकोण नीति तथा कार्यक्रम लिएर निर्वाचनमा जानुपर्छ भने ।
पार्टीभित्र फेरि समूहगत राजनीति चलेको भन्ने हल्ला निराधार रहेको उहाँको भनाइ छ । न्यायोचित व्यवस्थापनको कुरा पार्टीभित्र उठेको भन्दै उहाँले यो वा त्यो समूह भन्ने कुरा नभएको जिकिर गरे। “निर्वाचनमा समूह हो अब होइन” उनले भने । निर्वाचनपछि सबैको साझा सभापति, पदाधिकारी र केन्द्रिय सदस्य रहेको उनको भनाइ थियो ।
फरक प्रसङ्गमा बोल्दै उनले अहिलेको सरकारले जनताको चाहना अनुसार खोपको व्यवस्थापन गर्न सफल भएकोबताए । खोपसँगै अन्य काम पनि जनचाहना अनुसार गर्न सरकारलाई उनले आग्रह गरे ।








