मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गृहमन्त्री खाँणको सक्रियतामा २९ भन्दा बढी जिल्लाका बाढीपहिरो पीडितले पाए राहत



गृहमन्त्री बालकृष्ण खाँणको सक्रियतामा देशका २९ भन्दा बढी जिल्लामा रहेका बाढीपहिरो र बेमौसमी बर्षा पीडितहरुलाई विभिन्न प्रकारका राहत सामाग्री उपलब्ध गरिएको छ । अन्तर्राष्ट्रिय मानवतावादी संस्था चुजी फाउण्डेशनको १७ लाख अमेरिकी डलर सहयोगमा राहत सामाग्री वितरण गरिएको हो ।

झापा, बारा, काभ्रे, कास्की, सुर्खेत, सिन्धुपाल्चोक, रामेछाप, भक्तपुर, काठमाडौं, पर्वत, रौतहट, सोलुखुम्बु, धनकुटा, सुनसरी, इलाम, उदयपुर, ललितपुर, सल्यान, महोत्तरी, धादिङ, बर्दिया, कैलाली, नेपालगन्ज, धनुषा, सर्लाही, ताप्लेजुङ, मोरङ, रुपन्देही, चितवन लगायतका जिल्लामा राहत सामाग्री वितरण गरिएको हो ।

‘गृहमन्त्रीज्यूको पहलमा र राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को समन्वयमा अहिले रुपन्देही जिल्लामा राहत वितरण कार्य भइरहेको छ,’ राहत वितरणमा संयोजकको भूमिका निर्वाह गरेका सञ्जीव बस्यालले भने, ‘अब थोरै स्थानमा मात्र वितरण बाँकी छ, बाँकी स्थानमा सकियो ।’

बस्यालका अनुसार रुपन्देहीमा बेमौसमी वर्षाबाट पीडित बनेका एक हजार ४५६ परिवारलाई राहत सामाग्री उपलब्ध गराउने लक्ष्य राखिएको छ, जसमध्ये एक हजार ३०० भन्दा बढी परिवारलाई राहत प्रदान गरिसकिएको छ ।

रुपन्देहीको अब देवदह नगरपालिकामा मात्र राहत सामाग्री वितरण गर्न बाँकी रहेको उनले जनाए । नगरपालिकाका मेयरलाई कोरोना संक्रमण भएपछि राहत वितरण कार्य स्थगन गरिएको थियो । केही दिन भित्रै उक्त नगरपालिकामा पनि राहत सामाग्री उपलब्ध गरिने बस्यालले जनाए ।‘रेडक्रस, स्थानीय तहले सूचिकृत गरेका पीडितहरुलाई राहत सामाग्री उपलब्ध गरिएको हो,’ बस्यालले भने ।

एउटा परिवारलाई २५ केजी चामल, १० केजी आँटा, एक किलो दाल, एक किलो चना, एक किलो चिनी, एक किलो नुनु, साबुन, दुई तीनवटा ब्लैङ्केट लगायतका सामाग्री उपलब्ध गरिएको छ ।गृहमन्त्री खाँणले गत कात्तिक महिनाको पहिलो सातामा शीतलहर र यस वर्षको बेमौसमी वर्षाका कारण पीडित किसानहरुलाई तत्काल राहत उपलब्ध गराउन मन्त्रालय अन्तर्गतको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखालाई निर्देशन दिएका थिए ।

चुजी फाउण्डेशनले सहयोग उपलब्ध गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले राहत सामाग्री वितरणमा सहजकर्ताको भूमिका खोलेको हो । हालसम्म २९ भन्दा बढी जिल्लाका पीडितलाई राहत सामाग्री उपलब्ध गरिसकिएको छ । बाँकी राहत वितरणको काम पाँच दिन भित्र गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  १२ : ४९ बजे