जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुको आयोजनामा सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लाका चिसोबाट प्रभावित विपन्न परिवारलाई न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ ।जिल्ला विपद् कोषबाट खर्च हुने गरी प्रशासन कार्यालय सोलुखुम्बुले तिङ्लाका २५ घर विपन्न परिवारलाई आइतबार एक/एकवटा फाइबरको कम्बल र ३०/३० केजी चामल सहयोग गरेको हो ।
गृहमन्त्री बालकृष्ण खाँड र गृह सचिवको योजनाअनुसार सहयोग गरिएकोे सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेशविक्रम शाहीले बताए । अति नै विपन्न भएकै कारण चिसोबाट पीडित भएकाको पहिचान गरी अन्य स्थानमा समेत उक्त कार्यक्रम गरिने उनको भनाइ छ ।चिसोबाट कोही पनि नागरिकलाई कष्टकर जीवन बताउँन नपरोस् भन्ने उद्देश्यले सहयोग गरिएको प्रशासन कार्यालयले जनाएको छ ।
प्रशासन कार्यालयको सहयोगले गर्दा दिनभरि ज्याला मजदुरी गरी बिहानबेलुका चुलो बाल्नका लागि निकै ठूलो राहत मिलेको छत्रबहादुर भुजेलले बताए । घरमा काम गर्ने जनशक्ति नभएको र अन्यत्र गएर काम गर्ने समेत सामथ्र्य नभएको बेला यस्ता सहयोग अतुलनीय हुने उनको भनाइ छ ।
जिल्ला प्रशासन कार्यालयअन्तर्गतको विपत् व्यवस्थापन समितिले जिल्लामै पहिलो पटक तिङ्लामा न्यानो कपडा र खाद्यान्न वितरण गरेको हो ।








